कर्णालीको टिमुर यूरोप @ अभियान दैनिक

http://www.abhiyan.com.np/?p=278120

कर्णालीको टिमुर यूरोप

 
कर्णालीको टिमुर यूरोप
The following two tabs change content below.

सुर्खेत । कर्णालीमा उत्पादित टिमुरको माग यूरोपका बजारमा हुन थालेको छ । यूरोपमा शृङ्गारका सामग्री र सुगन्धित सामान बनाउन उपयोग गरिने टिमुरको गुणस्तर राम्रो भएकाले माग आउन थालेको हो ।

स्वाद र बासनाका लागि लोकप्रिय नेपाली टिमुरको माग यूरोपेली मुलुकबाट आउन थालेपछि व्यवसायी उत्साहित भएका छन् । महाभारत पर्वत शृङ्खलाको १२ सयदेखि २५ सय मिटरसम्म उचाइको खुला पाखोमा पाइने टिमुर अचार, तेललगायतमा प्रयोग हुँदै आएको छ ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका अनुसार सुर्खेत, जाजरकोट, सल्यानलगायत जिल्लाका किसानले उत्पादन गरेको टिमुरको माग भारतलगायत जापान, दक्षिण कोरिया, फ्रान्स र अमेरिकामा समेत बढेको छ । ती देशमा विशेषगरी नेपाली रेस्टुराँ र डिपार्टमेण्ट स्टोरबाट टिमुरको माग बढी आउने गरेको छ ।

माग बढ्दै गएपछि हाल ती देशमा टिमुरको निर्यात पनि बढ्दै गएको व्यवसायीले बताएका छन् । माग बढेपछि टिमुर खेतीमा लागेका किसान र निकासीकर्ता दुवै उत्साहित भएको आयोजनाले बताएको छ । केही वर्षअघिसम्म स्थानीय बजारमै खपत नहुने टिमुर फ्रान्स जान थालेपछि भाउ अकासिएको छ । गत वर्ष ५ सय रुपैयाँमै विक्री भएको टिमुर यस वर्ष प्रतिकिलो १ हजार रुपैयाँ पुगेको छ । किसानले व्यावसायिक रूपमै टिमुर खेती गर्न थालेका छन् ।

आयोजनाले व्यावसायिक टिमुर खेती र बजारीकरणमा सहयोग गरेपछि स्थानीयको जीवनस्तरमा परिवर्तन भएको छ । यो वर्ष मात्रै करीब ४० करोड रुपैयाँको टिमुर फ्रान्स निर्यात भएको छ । कर्णाली प्रदेशबाट मात्रै वर्षेनि करीब ८० करोड रुपैयाँको टिमुर भारतलगायत विभिन्न तेस्रो मुलुकतर्फ निकासी हुँदै आएको छ । आयोजना प्रमुख राजेन्द्र भारीले कर्णालीबाट जर्मनी निर्यात गरिएको टिमुर मसला बनाएर थप ७५ राष्ट्रमा पुग्ने गरेको बताए ।

सुर्खेतमा मात्र वार्षिक १ करोड रुपैयाँबराबरको टिमुर विक्री हुने गरेको छ । जिल्ला वन अधिकृत हेमराज विष्टले टिमुरबाट जिल्लाका किसानले राम्रो आम्दानी गर्न सफल भएको बताए । ‘अघिल्लो आर्थिक वर्षमा १ करोड रुपैयाँबराबरको टिमुर जिल्लाबाट निकासी भएकोे छ,’ उनले भने, ‘टिमुर विक्री भएबापत कार्यालयलाई वार्षिक १३ लाख ४३ हजारबराबरको राजस्व प्राप्त भएको छ ।’

अहिले डाबर नेपाल र जिल्ला वन कार्यालयले सुर्खेतका केही स्थानलाई टिमुर खेतीको पकेट क्षेत्रको रूपमा विकास गर्न लागेको बताएका छन् ।

पूर्वी सुर्खेतको धारापानी–३, का रेशम खड्काले धारापानी, मालारानी, मटेला रानीवास र गर्पनका करीब २० बढी समूहले उत्पादन गरेको ५ सय किलो टिमुर भारत हुँदै जर्मनी निर्यात भएको जानकारी दिए । टिमुर विशेषगरी खानाका परिकारका लागि मसला तथा दन्तमञ्जनलगायत दर्जनौं रोगको औषधिका रूपमा प्रयोग हुने गरेको भेरी अञ्चल आयुर्वेदिक औषधालय सुर्खेतका प्रमुख डा. महेशकुमार खनाल बताउँछन् ।

उनले टिमुरलाई औद्योगिक प्रयोजनबाहेक ग्याष्ट्रिक, झाडापखाला, रुघाखोकी र छालालगायत अनगिन्ती रोगमा घरेलु औषधिका रूपमा समेत प्रयोग गर्न सकिने जानकारी दिए ।