जुम्लाका ८४ वटा उपआयोजना हस्तान्तरण@rarakhabar.com

https://www.rarakhabar.com/np/jumla/6714

जुम्लाका ८ वटा स्थानीय तहलाई ८४ वटा उप–आयोजना हस्तान्तरण

जुम्ला, २२ भदौ ।
उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले जुम्लाका ८ वटा स्थानीय तहलाई आफुले संचालन गरी सम्पन्न गरेका ८४ वटा उप–आयोजनालाई हस्तान्तरण गरेको छ । शुक्रवार खलंगा भएको ‘आयोजना सम्पन्न गोष्ठी’ मा कृषक समुह, सहकारी संस्था र निजी सेवा प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका उप–आयोजनालाई हस्तान्तरण गरेको हो ।


गोष्ठीमा आयोजनाका सेवा बजार सुदृढिकरण विज्ञ रामप्रसाद पुलालीले बिस्तृत विवरणसहित चन्दननाथ नगरपालिकालाई २८, हिमा गाउँपालिकालाई ४, कनकासुन्दरी गाउँपालिकालाई २, पातारासी गाउँपालिकालाई २९, गुठीचौर गाउँपालिकालाई ३, सिजा गाउँपालिकालाई ८, तातोपानी र तिला गाउँपालिकालाई ५÷५ वटा उप–आयोजना हस्तान्तरण गर्नु भएको छ । हस्तान्तरण गरिएका उप–आयोजनामा स्याउका ५९, बेमौसमी तरकारीका १२ वटा, खसीवोकाका ६, तरकारी वीउ ४ वटा रहेका छन ।


आयोजनाले सहकार्य गरेका मध्ये उप–आयोजनामा अति गरिव २० प्रतिशत, मध्यम गरिव ५० प्रतिशत, सामान्य गरिव २० प्रतिशत र सम्पन्न १० प्रतिशत किसान समेटिएका थिए । आयोजनाले चारवटा मुल्य श्रृंखलामार्फत ८४ वटा उप–आयोजनामा रहेका १ हजार ७ सय २१ ज्ना किसानलाई ६ करोड ९२ लाख रुपैया अनुदान सहयोग गरेको थियो । त्यसमध्ये २०७५ साल असार मसान्तसम्म ६ करोड ६२ लाख रुपैया भुक्तानी दिइसकेको सेवा बजार सुदृढिकरण विज्ञ पुलामीले जानकारी दिनुभयो । 
आयोजनाले जुम्लामा स्याउ, बेमौसमी तरकारी, खसीबोका, तरकारी वीउ गरी चारवटा मुल्य श्रृंखलामा किसान र निजी सेवा प्रदायकलाई अनुदान सहयोग गरेको थियो । उप–आयोजनामार्फत १ हजार ७ सय २१ घरधुरीका किसानको आयस्तर आधार वर्षको तुलनामा तीन गुणले बढेको छ । आधार वर्षमा प्रतिघरधुरी ९ हजार ३ सय ७३ रुपैया रहेको आम्दानी बृद्धि भएर आयोजना सम्पन्न हुँदा ३७ हजार ५६ रुपैंया पुगेको पुलामीले बताउँनुभयो । उहाँले आधार वर्षको तुलनामा स्याउमा ३६ हजार ६ सय २७, खसीबोकामा २४ हजार ९ सय ९६, बेमौसमी तरकारीमा ९ हजार २ सय र तरकारी वीउमा २ हजार ३ सय ८५ रुपैयाले आम्दानीमा बृद्धि भएको उल्लेख गर्नुभयो ।

आयोजना लागु भएपछि आयस्तरसगै उत्पादनमा पनि बृद्धि भएको छ । आधार वर्षमा १ हजार ४८ मेट्रिक टन रहेको उत्पादन बढेर आयोजना सम्पन्न हुँदा एक हजार ७ सय ३६ मेट्रिक टन पुगेको छ भने बिक्री परिमाणमा पनि बृद्धि भएको छ । आधार वर्षमा प्रति वर्ष ६ सय २२ मेट्रिक टन रहेकोमा आयोजना सम्पन्न हुँदाको बर्ष विक्री परिमाण बढेर १ हजार ३ सय ५७ मेट्रिक टन पुगेको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २२, २०७५     9:07:06 PM