लेकाली अनलाइन
भदौ १५, सल्यान ।
उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले सहयोग गरी सम्पन्न भएका उप–आयोजनाहरु सल्यान जिल्लाका सम्वन्धीत स्थानीय तहलाई हस्तान्तरण गरेको छ । शुक्रवार शारदा नगरपालिको श्रीनगरमा भएको आयोजना सम्पन्न गोष्ठीमा ४६ वटा कृषक समुह/सहकारी संस्था र निजी सेवा प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका ६४ वटा उपआयोजना बनगाड कुपिन्डे नगरपालिका, कालिमाटी र सिद्ध कुमाख गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
गोष्ठीमा आयोजना प्रमुख राजेन्द्र प्रसाद भारीले उप आयोजनाको बिस्तृत विवरण सहित बनगाड कुपिन्डे नगरपालिकालाई ५२ वटा, कालिमाटी गाउँपालिकालाई ९ वटा र सिद्ध कुमाखगाउँपालिकालाई ३ वटा उप आयोजना हस्तान्तरण गरेका हुन् । आयोजनाले सहकार्य गरेका मध्ये अति गरिव ३१ प्रतिशत, मध्यम गरिव ३९ प्रतिशत, सामान्य गरिव २२ प्रतिशत र सम्पन्न ८ प्रतिशत किसान समेटिएका छन ।
उप आयोजना हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टले उच्चमूल्य कृषि बस्तु विकास आयोजनाले निम्न आयस्तर भएका किसानको आम्दानीमा बृद्धि गर्न र उनीहरुलाई व्यवसायिक कृषितर्फ आर्कषित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा उपस्थित पूर्व सांसद नेत्रलाल श्रेष्ठले बजारको माग अनुसारको कृषिजन्य बस्तुहरु उत्पादन गरी विक्री गर्न किसानलाई सुझाव दिए ।
तत्कालिन जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषिविकास अधिकृत अमरराजशर्मा घिमिरेले मूल्य श्रृंखलामा आधारित कृषिजन्य बस्तुहरुको छनौट गरी कृषक समुहर सहकारीहरुलाई व्यवसायिक बनाउन आयोजनाले गरेको प्रयासको प्रशांसा गरेका छन् ।
कार्यक्रममा सिद्ध कुमाख गाउँपालिकाकाअध्यक्ष चित्रबहादुर चलाउने, कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सहनसिलता ओली डिसी र बनगाड कुपिन्डे नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष शान्तकुमार यरीले आयोजनाले सहयोग गरेका किसान तथा निजी सेवा प्रदायकहरुलाई व्यवसायिक करण गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरका छन् ।
यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डन, सल्यान उद्योग बाणिज्य संघका महासचिव भरत बस्नेत, नेकपाका प्रतिनिधी दामोदर शर्मा, नेपाली काँगेसका जिल्ला कार्यसमिति सदस्य आइतु ओली, पार्ड नेपालका अध्यक्षशान्त बहादुर थापा लगाएतले सल्यानमा कृषि क्षेत्र अन्तर्गत संचालन भएका विभिन्न आयोजनाहरु मध्ये उच्चमूल्य कृषि वस्तु विकास आयोजना सवैभन्दा सफल र उत्कृष्ट आयोजना भएको भन्दै प्रंशंंसा गरेका थिए ।
गोष्ठीमा गोठी खोला बाख्रापालन समुहकी कोषाध्यक्ष सुस्मिता शाही, राधाकृष्ण तरकारी कृषि समुहकी अध्यक्ष गोमा चौधरी, दाउन्ने देवी कृषक समुहका सचिव गोविन्द खड्का र निजी सेवा प्रदायक निम प्रसाद बुढाले आयोजनाको सहयोगपछि आफु र आफ्नो समुहका सदस्यहरुमा आएको परिवर्तन सम्वन्धी अनुभव तथासिकाई सुनाएका थिए । गोष्ठीमा आयोजना कार्यान्वयनमा सहयोग गर्ने विभिन्न निकाय र उप आयोजनाहरुलाई प्रशंसा र प्रमाणपत्र वितरण गरिएको थियो ।
आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीको अध्यक्षता र सेवाबजार सुदृढिकरण विज्ञ रामप्रसाद पुलामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्राविधिक सहायक देवीराम कँडेलले संचालन गरेका थिए ।