भिसा छाडेर कृषिमा जमेका युवा @lokaantar.com

http://lokaantar.com/samachar/53040

विदेश जाने भिसा छाडेर कृषिमा जमेका युवा

36Shares
भदौ १२, २०७५

सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिका–२ जंगलाका नरजंग शाहीले ३ वर्ष मलेसिया र २ वर्ष साउदी अरबमा पसिना बगाए । गाउँमा केही विकल्प नहुँदा उनी फेरि दुबई जाने तयारीमा थिए ।

उनले काठमाडौंको सिनी हाइड्रो कम्पनीलाई पासपोर्ट समेत बुझाइसकेका थिए । तर, जब बिदाइ हुन घर आए, गाउँमा आपूmजस्तै युवाले तरकारी खेती गरेको देखे । ‘मजस्तै साथीले घरमै बसिबसी राम्रो आम्दानी गरिरहेको देखेपछि मेरो मन एकाएक फर्कियो,’ उनले भने, ‘भिसा लागिसकेको पासपोर्ट फिर्ता लिएर तरकारी खेतीमा लागें ।’

२०७२ सालमा उनले तुरुन्तै तरकारी खेती शुरू गरिहाले । ४ रोपनी जग्गामा ४ हजार टमाटरका विरुवा लगाए । शुरूकै वर्ष ६ लाख रुपैयाँ बराबरको कारोबार भयो । सबै खर्च कटाएर ३ लाख ५० हजार रुपैयाँ बचत गरे । पहिलो वर्ष नै विदेशको भन्दा दोब्बर कमाइ भएपछि उनी निकै उत्साही भए ।

मासिक १० हजार रुपैयाँ दिने गरी १ जना कर्मचारी राखे । अहिले उनी तरकारी बिक्री गरेरै वार्षिक ७÷८ लाख रुपैयाँ बचत गर्छन् । ‘विदेश गएको भए नोकर भइन्थ्यो, यहाँ मालिक भएर बसेको छु,’ उनले भने, ‘घरपरिवारसँग बसेरै यस्तो आम्दानी भएपछि किन विदेश जानु ?’

शाही अहिले ८ रोपनी बारीमा तरकारी खेती गर्ने योजनामा छन् । यसो भयो भने उनको आम्दानी मात्र बढ्ने छैन, थप केही युवाले रोजगारी पनि पाउने छन् । ‘हामीजस्तै युवाले खाडी मुलुकमा १६ घण्टा काम गर्दा मुस्किलले २० हजार कमाउँछन्,’ उनले भने, ‘अब मैले गाउँमै बसीबसी रोजगारी दिन सक्छु ।’

आफूले पनि मासिक करीब ४०–५० हजार रुपैयाँ आम्दानी गरिरहेको उनले बताए । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले जंगलामा रहेको वरपिपल कृषक सूमहमार्फत् किसानलाई व्यावसायिक तरकारी खेतीमा सहयोग गरेको छ ।

आयोजनाले सूमहलाई बेमौसमी तरकारी खेती, सिँचाइ, सडक र तरकारी संकलन केन्द्रका लागि समेत गरी ४१ लाख रुपैयाँ अनुदान सहयोग दिएको छ । समूहमा आवद्ध उनले आयोजनाको अनुदानले आर्थिक राहतका साथै प्रेरणा पनि मिलेको बताए । 

शाहीले तरकारी बेचेरै एउटा ट्याक्टर किनेका छन् । केही जग्गा पनि जोडेका छन् । ३ वर्ष साउदी अबर बसेर फर्केको कान्छो भाई गणेशले अहिले उनको व्यवसायमा सघाइरहेका छन् ।

शाहीको सपना छ, अब जंगला गाउँलाई नै आर्थिक रुपमा समृद्ध बनाउने । यसको लागि उनले युवालाई विदेश जानेभन्दा गाउँघरमै उद्यम गर्न परामर्श गरिरहेका छन् । ‘आ–आफ्नो सीप, क्षमता र दक्षतालाई उपयोग गर्दै उद्यम ग¥यौं भने समृद्धि टाढा छैन,’ उनी भन्छन्, ‘म अब त्यही अभियानमा लागेको छु ।’भदौ १२, २०७५ मा प्रकाशित