गाउँभरी नै बेमौसमे तरकारी खेती@ krishionline.com

http://krishionline.com

गाउँभरी नै बेमौसमे तरकारी खेती

tarkariसुर्खेत,२३ चैत्र ।  खेतभन्दा केही फिट तलबाट बग्ने भेरी गंगा निरन्तर बगिरहेकी छिन् । तर, त्यही भेरी गंगाको दायाँमा बसोबार गर्ने पचासौं घरघुरीहरु भने पानीको अभावका कारण उर्वर माटोमा पनि कृषि उपज उत्पादन गर्न नसकेर छट्पटाईरहेका थिए । हरेक घरमा दुइ चारवटा गाईबस्तु नभएका सायदै भेटिन्छन् तर पनि कृषि उत्पादनका लागि मात्र हरेक चीज भएर पनि पानीको अभाव खेपिरहनुको पीडा सायद जसले माटामो पसिना बगाउँछ उसैलाई थाहा हुन्छ होला । हेर्नेलाई त के थाहा ? आहा कति मजाले फलेको काउली वा बन्दाकोभी भन्दिए पुग्ला तर त्यत्ति बनाउनका लागि गरिएको महेनत र परिश्रमले भने सुखका स्वास भने फेर्दछन् । जव आफ्ना बेमौसमे तरकारीहरु प्रशस्त फल्दछन् ।
हो त्यही सिंचाई सुविधा नपाएर भेरीको डिलैमा रहेको खेत बाँझै छोड्नु पर्ने हो कि भनेर छट्पटिएका कृष्ण प्रसाद पौडेलको यतिखेर खुशीको सीमा छैन् । उनीमात्र होइन उनीसँगैका अरु पचास जना पनि खुशीले दङ्गिएका देखिन्छन् । नदङ्गिनु पनि किन भेरीगंगाको पानीलाई डिलमा रहेको जग्गामा सिंचाई सुविधा पु¥याएर प्रशस्त मात्रामा बन्दा, खुर्सानी, सिमी,फर्सी, गोलभेंडा, काँक्रो लगायतका बेमौसमे तरकारी उब्जाउन पाएपछि ।
चिया पसलमा शहरीया जस्ता देखिने दुईचार जना व्यक्तिलाई चिन्दै नचिनीकन आफनो टोलमा भएको समस्या राख्दा र त्यही नचिनेकै व्यक्तिहरुले भेरीगंगाको पानीलाई डिलसम्म पु¥याएर यतिधेरै उब्जनी गराईदिएपछि पटक पटक नाम लिईरहन्छन् स्तम्भकार सहितको टोलीलाई पौडेल । ‘हाइभ्यालु’ पटक पटक नाम लिईरहन्छन् । हामीले त सोचेका पनि थिएनौं, ‘हाइभ्यालु’ ले हाम्रो खेतमा यस्तो हराभरा बनाउला भनेर । दुई बर्षसम्म धाउँदा नभएको काम चिन्दै नचिनेको व्यक्तिहरुसँग एकै छिन चिया खादाँको समयमा गरेको कुरा कै आधारमा सिंचाई पुग्यो । हामीसँग उनी भन्दै थिए ‘हाइभ्यालु’ अनि सोधे के हो ‘हाइभ्यालु’ भनेको खै जे होस् ‘हाइभ्यालु’ ले हाम्रो जीवनमा उज्याले छरिदिएको छ । सिंचाई उपलब्ध गराईदिएको छ अनि हामीले उत्पादन गरेको तरकारी बेच्नका लागि बजार पनि खोजिदिएको छ हामीलाई यहाँ भन्दा के चाहियो उनी भन्छन् ।
पौडेलले भने जस्तै‘हाइभ्यालु’ अर्थात उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले आफूले अनुदान सहयोग गरेका किसान समूहका धेरै समस्याहरुलाई सम्वोधन गरिदिएको रहेछ । सुर्खेतको भर्खरै मात्र नगरपालिका बनेको हात्तिसुाडे भेरीगंगा १० मा ५० जना सदस्य मिलेर बेमौसमी ताजा तरकारी उत्पादन समूह मार्फत तरकारी उत्पादन गरिरहेका किसानहरुलाइ करीव ८ लाख सहयोग गरेर जीवन भर नभूल्ने गुन लगाएको रहेछ ।
समूहको खेतबारीमा उत्पादन भएको बेमौसमी तरकारीहरु यतिधेरै फलेका छन् कि किसानहरु आपैm तीनछक्क परेका छन् । फलेको ठूला ठूला बन्दाकोभी नविक्दा भने साह्रै दुखित हुँदा रहेछन् । जति सानो छ भन्दा पनि ५ किलो भन्दा कम को छैन बोटको बन्दा देखाउँदै पौडेलले कृषि प्रतिनिधिहरुलाई भने । यतिधेरै छ कहाँ लगेर बेच्नु । ‘हाइभ्यालु’ले देवकोटा तरकारी बजारमा सम्पर्क बनाईदिएको छ तर बजार पनि धेरै ठूला फल्यो भन्छन् ।
रसायनिक मल पनि हाल्नु भएको छ कि भन्ने प्रश्नमा पौडेल भन्छन् घरकै गाईभैसीको मल कहाँ राखौ हुन्छ किन हाल्न प¥यो र रसायनिक मल । रसायनिक मल मात्र होइन रोग किराबाट बचाउन प्रांगारिक विषादीको पनि प्रयोग गरिरहेका छौं उनले आफूहरुले तयार गरेको प्रांगारिक विषादी देखाउँदै भने ।
प्रांगारिक उत्पादन गरिरहेको बेमौसमी ताजा तरकारी उत्पादन समूहका ५० किसानहरुको मेहनत र परिश्रमलाई साँच्चै नै ‘हाइभ्यालु’ ले चिनेछ । थोरै अनुदानबाट त्यति धेरै उपलब्धि भएको कमै मात्र पाईन्छ होला । बेमौसमी तरकारी उत्पादनका लागेका ५० सदस्यीय किसान समूह मात्र होइन अनुदान सहयोग उपलब्ध गराउने ‘हाइभ्यालु’ का आयोजना निर्देशक पनि किसानहरुको काम देखेर दङ्ग छन् । किसानहरुले उत्पादन गरेको तरकारीका बारेमा कृषि प्रतिनिधसँग आयोजना निर्देशक राजेन्द्रप्रसाद भारी भन्छन् ः फुङ्ग उडेको बारीमा बेमौसमी तरकारी उत्पादन गर्दछु भनेर भन्ने किसानहरु पहिलो भेटमा त शंका पनि लागेको थियो । काम गर्दछु भन्नेलाई प्रोत्साहन गर्दै प्रस्ताव हाल्नुस् भनेका थियौं । उहाँहरुले प्रस्ताव हाल्नु भो र प्रस्ताव स्वीकृत पनि भयो । प्रस्ताव स्वीकृत हुनासाथ उहाँहरुले काम शुरु गर्नु भयो । त्यति धेरै र राम्रो तरकारी फलाउनुमा उहाँको ठूलो योगदान मैले देखेको छु । साह्रै मेहनती किसान समूह पनि मैले पाएँ हुन पनि फुङ्ग उडेको बारीमा बेमौसमी ताजा तरकारी उब्जाउनु चानचुने कुरा भने होइन । पौडेलेको ५० सदस्यले यतिखेर गाउँभरी नै बेमौसमी तरकारी फलाएका छन् । धन्य छ यी माटोका पुजारीहरुलाई, माटोमा आफनै पसिनाले पूजा गरिरहेका छन् अनि हजारौका लागि ताजा तरकारी उब्जाईरहेका छन् ।