तरकारी बेचेर ५ लाख आम्दानी @ onlinekarnali.com

http://onlinekarnali.com/2017/10/510

रकारी बेचेर वार्षिक ५ लाखभन्दा बढी आम्दानी

 Online Karnali 
प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४       |  

सुर्खेत

सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ आँपखोलीका किसान टोपबहादुर बुढा बारीमा लगाएको तरकारी गोडमेलमा व्यस्त हुनुहुन्छ । उहाँले तीन वर्ष अघिबाट व्यवसायिक रुपमा तरकारी खेती थाल्नुभएको हो । उहाँको ५ रोपनी जग्गामा यतिखेर काउली, बन्दा, टमाटर  लगायतको तरकारीले भरीभराउ छ ।

आँपखोलीकै निमबहादुर विक पनि तीन वर्षदेखि आफ्नै बारीमा पसिना बगाउँदै आउनुभएको छ । उहाँलाई बनगाड कुपिन्डे नगरपालिकाकै सफल कृषक बनाएको छ । सल्यानको सल्लीबजार क्षेत्रका धेरैजसो किसानको दैनिकी टोपबहादुर र निमबहादुरकै जस्तो छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतको सहयोगपछि छिन्चु जाजरकोट सडक खण्ड असपासका किसानको जीवनस्तर फेरिएको छ ।  बिष्णु आँपखोली ताजा तरकारी उत्पादन समूहमा आवद्ध २५ जना किसानले तरकारी बेचेरै राम्रो आम्दानी गरिरहेका छन् ।

उहाँहरुलाई तीन वर्षअघिबाट आयोजनाले सहयोग गर्दै आएको छ । आयोजनाको सहयोगपछि सल्लीबजार आसपासका धेरै किसानले व्यवसायिक रुपमा तरकारी खेती थालेका थिए । अहिले उँहाहरुको लागि मौसमी र वेमौसमी तरकारी खेती वरदान नै सावित भएको छ । मौसमी र वेमौसमी तरकारी बेचेर एकजना किसानले वार्षिक रुपमा तीन लाख रुपैयाँ आम्दानी गदै आएका छन् । समूहका कोषाध्यक्ष लालबहादुर बिसीले भन्नुभयो ‘तरकारी व्यवसायबाट नाम र दाम कमाएका किसान आफूले पाएको सफलताबाट निकै खुशी छन् ।’ वनगाड कुपिन्डे नगरपालिका–१ आँपखोलीका टोपबहादुर बुढाको ५ रोपनी जग्गामा बाह्रैमास मौसमी र बेमौसमी तरकारी हुन्छ । तरकारी बेचेर वार्षिक ५ लाखभन्दा बढी आम्दानी गरिरहेका बुढा भन्नुहुन्छ ‘बेच्न जानै पर्दैन, बारीमै खोसाखोस हुन्छ ।’ तरकारी खेती गर्नुभन्दा अघि उनको आम्दानी गर्ने बाटो थिएन । घरखर्च चलाउन वर्षेनी भारत जाने गर्थे उहाँले विगत सम्झदै भन्नुभयो ‘आवश्यक परेका बेला ऋण माग्न जाँदा नपत्याउनेहरु अहिले प्रशंसा गर्न थालेका छन् ।’ तरकारीबाट राम्रै आम्दानी हुन थालेपछि उहाँले गाउँमा सफल किसानको पहिचान बनाएका छन् । तरकारी व्यवसायबाट उहाँले आफ्नो परिवारको गुजारा राम्रोसँग चलाउनुभएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सल्लीबजार आसपासका बासिन्दा व्यवसायिक तरकारी खेतीतर्फ थप आर्कषित भएका छन् । पुरुषसँगै महिलाले पनि जग्गा भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । महिलाहरु समूह नै गठन गरेर तरकारी खेतीमा जुटेका छन् । राधाकृष्ण ताजा तरकारी कृषक समूहमा आवद्ध पार्वती विकले तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेकी छन् ।

धान, मकै, गहुँ लगाउने जग्गा भाडामा लिनुभएकी उहाँले तरकारी खेतीबाट वर्षमा दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो । व्यासायिक रुपमा तरकारी खेती गर्नको लागि आयोजनाले आफनो समूहलाई १५ लाख रुपैयाँ अनुदान सहयोग गरेको समूहका सदस्य राधिका पुनले बताइन् । तरकारीको आम्दानीबाट घरखर्च चलाउन, केटाकेटी पढाउन निकै सजिलो भएको पनि उहाँले बताउनुभयो ।तरकारी खेतीले सल्लीबजार क्षेत्रका किसानको जीवनस्तर उकास्दै छ । एक जना किसानले एक सिजनमा ५० क्विन्टल तरकारी बेच्ने गर्छन् । आयोजनाले विष्णु आँपखोली ताजा तरकारी समूहलाई ८ लाख रुपैयाँ अनुदान दिएको थियो । त्यो रुपैयाँले उनीहरुले बाँसको टनेल, सिचाईको लागि पाइप र पानी पोखरी बनाएका छन् । समूहका सचिव तुंगबहादुर बिसीले भन्नुभयो ‘उच्च मूल्य आयोजनाको सहयोगपछि किसानहरुले व्यवसायिक रुपमा तरकारी खेती थालेका छन् ।  आम्दानी पनि ३ तिहाइले बढेको छ ।’

आर्गनिक तरकारी उत्पादन गर्दै आएका किसानले उत्पादित तरकारी बेच्नको लागि समस्या नभएपनि तरकारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय तरकारीको कारण बजार मूल्यमा उताव चढाव आउने गरेको उनीहरुले बताए । बिष्णु आँपखोली ताजा तरकारी उत्पादन समूह सचिव तुंगबहादुर बिसीले व्यापारीले किसानलाई तुरुन्तै नगद नदिने गरेको गुनासो गर्नुभयो । उपकरणको अभाव, मौसम अनुकुलका तरकारीका जातहरुको अभाव, सिचाई सुविधा नहुँनु जस्ता कारणले पनि किसानले थप आम्दानी गर्न सकिरहेका छैनन् । उनीहरुले मौसम अनुकुलका तरकारीको बीउको विकास गर्नुपर्ने, कृषि प्रविधिलाई किसान मैत्री बनाउनु पर्ने माग गरेका छन् । यस्तै राज्यले किसानहरुलाई सस्तो व्याजदरमा उपकरण, बीउ बिजन, खनजोत गर्ने उपकरणको पनि तत्काल व्यवस्था गर्नुपर्नेमा पनि किसानले जोड दिएका छन् । उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका प्रमुख राजेन्द्रप्रसाद भारीले किसानको आयस्तर बृद्धि गर्नको लागि समस्या समाधानको लागि आयोजनाले काम गर्ने बताउनुभयो । उच्च मूल्य कृषि वस्तु विकास आयोजनकै सफलतामा टेकेर ६ अर्ब रुपैयाँको नयाँ आयोजना पनि सुरु हुन लागेको उल्लेख गर्दै उहाँले अहिलेको सिकाई र अनुभवले नयाँ आयोजनालाई पृष्ठपोषणको रुपमा काम गने उल्लेख गर्नुभयो ।

प्रकाश पन्त/उज्यालो ।