४२ करोड रुपैयाँ लगानी @ khabarera.com

http://khabarera.com/2016/07/8457

0SHARES

सुर्खेत, २६ असार । मध्यपश्चिमका उच्च मूल्य कृषि वस्तुमा पाँच वर्षको अवधिमा ४२ करोड रूपैयाँ लगानी भएको छ । Tarakari Kheti Photo no.2 {Khotang}स्वदेश तथा विदेशमा समेत ती वस्तुको माग उच्च भएकोले तिनको उत्पादन बढाइ कृषकहरूको आयस्तर बढाउनका लागि उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले स्याउ, अदुवा, खसीबोका, बेमौसमी तरकारी, टिम्मुर, बेसार र तरकारीको बीऊ गरी सात वटामा सो लगानी गरेको हो । मध्यपश्चिमको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट र जुम्ला र सुदूरपश्चिमको अछाम जिल्लामा आयोजनाले २०६७ देखि कार्य क्षेत्र बनाएको छ ।

साढे ६ वर्षे उक्त आयोजनाको पाँच वर्षको अवधिमा ४७८ उपआयोजनामा ४२ करोड रुपैयाँ लगानी गरेर कृषकहरुको अतिरिक्त आम्दानी २१ हजार पुर्‍याएको उच्च मूल्य कृषि वस्तु विकासका बरिष्ठ कृषि अधिकृत हरिप्रसाद गुरुङले जानकारी दिए । आयोजनाका बरिष्ठ कृषि अधिकृत हरिप्रसाद गुरुङले ७ जिल्लाका १३ हजार ५ सय घुरधुरीले कार्यक्रमबाट आफ्नो बार्षिक आम्दानी ३० हजार बनाउने लक्ष्य लिएकोमा पाँच बर्षको अवधिमै उच्च मूल्य कृषि बस्तुबाट २१ हजार आम्दानी गरिसकेको दावी गरे । सबैभन्दा धेरै लगानी सुर्खेतमा १५५ वटा उपआयोजनामा १५ करोड भएको छ । यसपछि जुम्लामा ७० उपआयोजनामा ६ करोड, कालिकोट मा ६७ उपआयोजनामा ६ करोड, जाजरकोटमा ६२ उपआयोजनामा ४ करोड, दैलेखमा ५७ उपआयोजनामा ५ करोड र अछाममा २७ उप आयोजनामा १ करोड बढी रकम लगानी भएको अधिकृत गुरुङले जानकारी दिए ।

आयोजनाले सवैभन्दा धेरै लगानी बेमौसमी तरकारी र खसीबोकामा गरेको छ । बेमौसमी तरकारीका १३५ उपआयोजनामा ११ करोड र खसीबोकाका १२२ उपआयोजनामा १० करोड बढी रकम लगानी गरेको छ । त्यसपछि स्याउमा ८५ उपआयोजनामा ८ करोड, अदुवाका ४५ उपआयोजनामा ४ करोड, बेसारको ४७ उप आयोजनामा ३ करोड, टिम्मुरको २६ उपआयोजनामा २ करोड र तरकारीको बीऊको १८ उपआयोजनामा २ करोड लगानी भएको आयोजनाले जनाएको छ ।

यो अवधिमा आयोजनाले १३ सय ६४ वटा विभिन्न भौतिक पूर्वाधारहरु समेत निर्माण गरेको जनाएको छ । सिमेन्टको पानीपोखरी ८१ वटा, कुलो २३ वटा, कुवा ८ वटा, प्लाष्टिक पानी पोखरी १२१ वटा, तरकारी संकलन केन्द्र ७ वटा, लिफ्ट सिंचाई ४ वटा, बाख्राको खोर ११ सय ७ वटा निर्माण गरेको छ । लगानी भएको ४२ करोडमा ५३ प्रतिशत अर्थातम २२ करोड रुपैयाँ विभिन्न समूह तथा सहकारीहरुलाई भुक्तानी समेत दिइसकिएको छ । आयोजनाले ५ बर्षको अवधिमा ९१ करोड ४० लाख रुपैयाँ (६८ प्रतिशत) बजेट खर्च गरिसकेको छ । यसमा प्रति घरको आम्दानीमा ६३ प्रतिशत, लाभान्वित घरपरिवार संख्या १०२ प्रतिशत, आयोजनाले अहिलेसम्म ८० प्रतिशत प्रगति हासिल गरिसकेको दावी अधिकृत गुरुङले गरे ।

आयोजना लागू भएपछि यहाँ उत्पादित अदुवा नेदरल्याण्ड निकासी गरिएको, टिम्मुर फ्रान्स निकासी गरिएको, गरीव र पिछडिएको समुदायहरुको सहभागिता ९१ प्रतिशत पुगेको जिकिर गरिएको छ । उच्च मूल्य कृषि बस्तु विकासका बरिष्ठ कृषि अधिकृत हरिप्रसाद गुरुङले ग्रामीण क्षेत्रका गरीब महिला र सीमान्तकृत जनतालाई उच्च मूल्य कृषि बस्तु, गैरकाष्ठ वन पैदावार र जडिबुटीका मूल्य शृंखलामा आवद्ध गराउँदै बजारीकरण क्षमतामा सुधार ल्याउने र आयोजना तथा रोजगारीको अवसर सिर्जना गर्नु नै मुख्य उद्देश्य भएको बताए ।