प्रविधिको समस्या धेरै छ @ krishionline.com

http://krishionline.com

किसानका समूहहरुमा प्रविधिको समस्या अत्यन्तै धेरै छ

 

rajendra bhari

राजेन्द्रप्रसाद भारी 
आयोजना निर्देशक 
उच्चमूल्य कृषि बस्तु विकास आयोजना

० नेपालमा उच्च मूल्य कृषि वस्तुको उत्पादन अवस्था कस्तो छ ?
नेपालमा उच्च मूल्यमा जाने वस्तुहरुमा खास गरेर तरकारीको बीउ, चिया, कफी, अदुवा र बेसार लगायत वस्तुहरु र हिमाली क्षेत्रमा हुने जडीबुटी र स्याउ लगायत वस्तुहरु उत्पादनमा छन् । उच्च मूल्य कृषि वस्तुको उत्पादनमा अहिले वृद्धि भइरहेको अवस्था छ । तर यतिकैमा सन्तोष हुनुपर्ने वा मान्नु पर्ने अवस्था भने छैन ।
० उच्चमूल्य कृषि वस्तु उत्पादनको संभावना प्रशस्त भए पनि जुन हिसाबमा प्रगति हुनु पर्ने हो किन भइरहेको छैन ?
खास गरेर किसान वर्गहरुमा जनचेतनाको कमी हुनु, र सामाजिक रुपमा किसानहरुलाई हेर्ने दृष्टिकोण पनि एकदमै फरक छ । नेपालमा सामाजिक रुपमा अहिले पनि किसानहरुलाई निम्न वर्गको मान्ने र जागिर गर्नेलाई उच्च तहमा हेर्ने परम्परा यथावतै रहेको छ । काम गर्ने किसानलाई सानो र जागिर (टेबल वर्क ) गर्नेलाई ठूलो मान्ने मनस्थिति र एसएलसी पास गरिसकेपछि कृषि गर्न नचाहनुले पनि प्रगति हुन नसके हो भन्न सकिन्छ । अर्को कुरा कृषिमा मूख्य कुरा चाहिने भनेको प्रविधि हो । किसानलाई चाहिने प्रविधि र सूचनाका सेवाहर समयमा राज्यले पु¥याउन नसक्नु नै हो । नेपालमा कृषिको क्षेत्रमा अपार सम्भावना हुँदा–हुँदै पनि युवाहरु कृषि पेशामा नलागेर अन्यत्र पलायन हुने गरेका छन् । यसले गर्दा पनि जुन किसिमले उच्चमूल्य कृषि बस्तुहरुमो उत्पादनमा प्रगति हुनु पर्ने हो त्यो भएको छैन ।
० त्यसो भए आयोजनाले के कस्ता विषयहरुलाई प्राथमिकता दिएको छ त ?
सरोकारवालाहरुसँग छलफल गरेर तिनै निकायहरुवीचको छलफलबाट प्राथमिकतामा परेका लगभग ५२ वटा वस्तुहरु बास्केटमा राखेर वस्तु छनौट गर्दाखेरी त्यस मध्येबाट २२ वटा वस्तुहरुलाई छनौट उच्चमूल्य कृषि बस्तु उत्पादनमा जोड दिनु पर्दछ भन्ने भयो र त्यही अनुरुप अगाडि बढिरहेको छ । तर, यति ठूलो संख्यामा वस्तुहरुलाई प्राथमिकता दिन सकिदैन भनेर त्यसलाई गु्रपिङ्ग गर्दै आयोजना लागु भएका सातवटा जिल्लाहरुमा स्याउ, तरकरीको बीउ, अदुवा, बेसार, बेमौसमी तरकारी, खसीबोका र टिमुरमा उत्पादन तर्फ हामी केन्द्रित भएका छौ । धेरै वस्तुमा जाँदाखेरी थोरै समयमा त्यसको सहि र उचित प्रतिफल निकाल्न गाह्रो हुन्छ भने सातवटा वस्तुको मध्य–पश्चिमाअञ्चल क्षेत्रमा अपार संभावना भएको हुनाले स्थानीय सरोकार वालाको सहजीकरणमा हामीले यी सातवटा वस्तुहरु छनौटगरि आयोजनाले सातैवटा जिल्लाहरमा कार्यक्रम अगाडि बढाएकोछ ।
० छनौट गरिएका सातवटा वस्तुहरु मध्ये निर्यात गर्न सकिने कुन वस्तु अधिक संभावना देख्नु भएको छ ?
आयोजनामा छनौट भएका सात वस्तु मध्ये मुख्यगरेर विदेश निर्यात हुने भनेको अदुवा र त्यसपछि तरकारीको बीउ नै हो । अहिले आएर केहि व्यापारीहरुले जुम्लामा उत्पादित स्याउको निर्यात पनि गरिरहेका छन् । जुम्लामा उत्पादित स्याउ प्राङ्गाकिरक उत्पादन भएको हुनाले मलेशियाबाट जुम्लामा उत्पादित स्याउको माग आईरहेको हामी खबर पाएका छो ।
० मासु जन्य उत्पादनको माग पनि त बढ्दो छ नि होइन ?
हो । तर खसीबोका उत्पादन जति नै धेरै गरिएपनि आजसम्म हामीले आफ्नै आन्तरिक बजारमा माग अनुसार पूर्ति गर्न सकिरेका छैनौ । तर, आउने दिनहरुमा खसीबोका उत्पादनको आन्तरिक बजारमा माग अनुसार पूर्ति गर्ने प्रयासमा छौ मलाई लाग्छ सायद अब केही समयभित्रै हामीले आन्तरिक बजारको माग अनुसार पूर्ति गर्न सक्छौ जस्तो लाग्छ । अर्को कृषि उत्पादनहरु मध्ये नेपाली टिमुरको विदेशमा राम्रो माग रहेको छ । नेपालमा उत्पादित टिमुर विदेशमा टुथपेष्ट कम्पनीरुले टुथपेष्टमा तयरा गर्नका लागि प्रयोग गर्ने हुनाले टिमुरको माग अत्यन्तै धेरै बढेको छ । तर हामीले माग अनुरुप उत्पादन गर्न सकेका छैनौं ।
० हामीले किन उत्पादन गर्न सकेनौ त?
यसमा लगानी र धैर्यताको अति आवश्यक हुन्छ । तर हामी धैर्यता गर्न सक्दैनौ । छोटो समयमा हामी धेरै फाइदा खोज्ने गर्दछौं त्यसकारण पनि कृषिप्रति मानिसको मोह कम भयो । तर माथिको जुम्ला र कालीकोट क्षेत्र भनेको स्याउ उत्पादनका लागि महत्पूर्ण मानिन्छ । त्यो पनि विशेष गरेर प्राङ्गारिक उत्पादनको प्रचुर मात्रामा संभावना रहेको छ । आयोजनाको छनोटमा परेका वस्तुमा पहिलो खसीबोका दोस्रो तरकारी र तेस्रो वस्तुमा पर्दछ । ती क्षेत्रमा स्याउका बिरुवा लगाउने भन्दा पनि स्याउको बगैचा व्यवस्थापन, काँटछाँट र बजारीकरणमा किसानहरुलाई जोड्ने कार्यक्रमहर भएका छन् । अहिले अदुवा र बेसारको प्रशोधन केन्द्र सुर्खेत जिल्लामा व्यवस्थापन भएको हुनाले कृषकहरु अधिकतम अदुवा र बेसार उत्पादनमा पनि उत्साहित भएर सहभागिता भईरहेको अवस्थाछ ।
० तर आयोजनाको रकम त भत्ता र तालिममा नै सकिन्छ भन्ने आरोप छ नि ?
हाम्रो आयोजनाको कुरा गर्दाखेरी जम्मा वजेटको ४५ प्रतिशत बजेट किसान समुह सहकारीको खातामा जम्मा हुन्छ । किसानहरुलाई क्षमता अभिवृद्धि, तालिम, गोष्ठी र भ्रमण आदि गराउनु पर्ने नै हुन्छ । त्यसैले २० प्रतिशत त्यसका लागि बजेट छुट्याइएको हुन्छ । यसरी नै विभिन्न शीर्षकमा रकम बजेट बाँडफाँड भएको हुन्छ यो विषयमा सरकारको रातो किताबमा उल्लेख गरेको हुन्छ । त्यसैले अधिकतम रकम भ्रमणमा खर्च हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन ।
० आयोजना किसानमय हुन का लागि के गर्नु भएको छ त ?
हाम्रो आयोजना सञ्चालन भएका सातवटा जिल्लाहरु मध्ये सुर्खेतमा रहेको छ । आयोजना कृषि विकास कार्यालय, क्षेत्रीय निर्देशनालय र क्षेत्रीय प्रशासन कार्यालयसँग नजिक छौ । यस्ता आयोजनाहरुको कार्यान्वयन पक्ष केन्द्रबाट हुनु हुँदैन । आयोजना भएको क्षेत्रबाट हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । किनभने आयोजना भएको क्षेत्रबाटै कार्यान्वयन हुँदाखेरी दोहोरो संवाद हुन सक्छ । यदि कार्यान्वयन पक्ष केन्द्रबाट भयो किसानसँग राम्रोसँग संवाद हुन सक्तैन र विभिन्न समस्याहरु हुन्छन् ।
० त्यसो भए आयोजना सञ्चालनमा समस्या छैन ?
हो हाम्रो आयोजना सञ्चालनका लागि कुनै पनि समस्या छैनन् । तर, एउटा कुरा के छ भने किसानहरुलाई अनुदान मात्रै दिएर हुँदो रहेन छ । किसानहरुको क्षमता विकास, लैंङ्गिक तथा सामाजकि परिवर्तन भनेर जल्दोबल्दो प्राविधिक समस्याहरु किसानहरुको रहेछ । सम्पूर्ण प्राविधिक सेवा नेपाल सरकारबाट मात्रै प्राप्त नहुने हुनाले निजी संघसंस्थाहरुले पनि सेवा सेवा दिनु पर्ने हुन्छ । किसानका समुहहरुमा कृषि प्रविधिको समस्या भने प्रशस्त छ । -वैकुण्ठ भण्डारी