बेसारले रोक्यो कालापहाड यात्रा @ rarakhabar

http://www.rarakhabar.com/np/agricultureforest/6591

बेसारले रोक्यो कालापहाड यात्रा

सुर्खेत, भेरीगंगा नगरपालिका–११, चुकेतालमा केही वर्ष अघिसम्म मकै र घैया धान लगाइन्थ्यो । यसले परम्परागत बालीको बिडो त धानेको थियो, स्थानीयको आर्थिक जीवनस्तरमा भने कुनै सहयोग गरेको थिएन । अहिले सोही ठाउँमा बेसार खेती लगाइन्छ, जुन खेतीले किसानको जीवन नै बदलिदिएको छ । यसले स्थानीयवासी निकै उत्साही बनेका छन् ।
गौरी बिक एक प्रतिनिधिमूलक किसान हुन् । दुई वर्षअघिसम्म उनको आम्दानी शून्य थियो । बेसार खेती थालेपछि भने उनले आम्दानी गर्न थालेका छन् । गत वर्ष ४० केजी बेसार बेचेर तीन हजार पाँच सय रुपैयाँ आम्दानी गरे । यसबाट उनी दंग छन् । ‘पहिले त के को आम्दानी हुनु ? शून्य नै थियो हजुर !’ उनले भने, ‘पोहोर सालदेखि बेसार लगाउन थालेँ, पैसा पनि घरमै आउन थाल्यो ।’


दलित समुदायको बसोबास रहेको चुकेतालमा उनीजस्तै अन्य किसानलाई उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले सहयोग गरेको छ । आयोजनाले एक लाख ५२ हजार रुपैयाँ अनुदान दिएको छ । गाउँका किसानले चुकेताल फलपूmल तथा कृषक समूह गठन गरेका छन् । समूहका अध्यक्ष गोवद्र्धन बस्नेतका अनुसार हाल ४० जना किसान व्यावसायिक रुपमै बेसार खेतीमा संलग्न रहेका छन् ।
हिउँदमा बाँझै रहने बारीमा बेसार खेती हुन थालेपछि गाउँलेको कालापहाड यात्रा पनि रोकिएको छ । एक वर्षयता कुनै पनि स्थानीय पैसाको खोजीमा कालापहाड गएका छैनन् । कामको लागि भारतमात्र होइन, नजिकका छिन्चु, रामघाटलगायत बजारक्षेत्रमा जाने स्थानीय अहिले गाउँमै बस्छन् । बेसार उमारेर आम्दानी गर्छन् । उत्पादित बेसार बेच्न उनीहरु बजार धाउनुपर्दैन । नजिकैको कुशे मिनरल एण्ड हर्बल उद्योगले किसानको बेसार खरीद गरेर बजार पठाउँछ । ‘भर्खर सुरु भएको बेसार खेतीले राम्रो आम्दानी दिने संकेत मिलेको छ,’ स्थानीय खले सुनारले भने, ‘अब किन अर्काको देशमा नङ्ग्रा खियाउन जाने ?’ आप्mनो जीवनमा बेसार खेती बरदान सावित भएको उनले बताए ।
अध्यक्ष बस्नेतका अनुसार गत वर्ष चुकेताल बस्तीका किसानले बेसारबाट पाँच लाख रुपैयाँ आम्दानी गरे । प्रतिकेजी १५ रुपैयाँमा बिक्री गरेका उनीहरु अहिले प्रतिकेजी २५ रुपैयाँमा बेच्ने योजनामा छन् । यसले आम्दानी अझै बढाउने उनीहरुको विश्वास छ । आयोजनाको सहयोगले किसानलाई थप सहज बनाएको छ । गरिवी समावेशीकरण कोषमार्फत आयोजनाले चुकेताल फलपूmल कृषक समूहमा अति बिपन्न ३२ जना सदस्यलाई सहयोग गरेको छ । समूहमा २७ जना दलित, दुईजना जनजाति र तीतजना क्षेत्री छन् ।
चुकेतालमा बेसार खेतीका लागि सिँचाइ सुविधा छैन । यसले गर्दा दुःख अनुसारको उत्पादन नभएको किसानको गुनासो छ । सरकार र सम्बन्धित सरोकारवालालाई सिँचाइ व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको अनलाईनबाट

प्रकाशित मितिः बुधबार, भदौ ६, २०७५     9:17:23 PM