३६ वर्ष शिक्षकको रुपमा विताएका दैलेखको नारायण नगरपालिका–२ जारकोटका गणेशबहादुर थापाका हिजोआजका दिनहरु भने तरकारी खेतीमा बित्ने गर्छन । मौसमी तथा वेमौसमी तरकारी खेती गर्नु भएका उहाँलाई अहिले तरकारी लगाउन, हुर्काउने र बेच्ने चटारो छ । बिहान÷बेलुका बारीको माटोमै खेलिरहनु भएका थापा भन्नुहुन्छ, ‘ शिक्षक भएर ३६ वर्ष ज्ञानको ज्योति बाँडे, अहिले कृषक भएर व्यसायिक कृषक हुन गाउँलेलाई प्रेरित गरिरहेको छु ।’
२ वर्षअघिबाट व्यसायिक रुपमा तरकारी खेती सुरु गर्नु भएको उहाँले पहिलो वर्ष २ लाख रुपैया आम्दानी गरेको बताउनु भयो । उहाँले अहिले ६ रोपनी जग्गामा आलु, मुला, गाजर, काउली, बन्दा, साग, प्याज, लसुन, खुर्सानी, टमाटर, धनियाँ लगायतका तरकारीहरु लगाउनु भएको छ । व्यावसायिक तरकारी खेतीमा होमिनु भएका थापालाई कृषक बन्ने प्रेरणा उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले दिएको हो । आयोजनाले गाउँकै करलेआवत कृषक समुहलाई बैमौसमी तरकारी खेती गर्न १३ लाख ५७ हजार रुपैया सहयोग गरेको छ । २ वर्षअघिसम्म घरमै खानको लागि बारीको एक छेउमा मात्र तरकारी लगाउथ्यौ थापाले भन्नुभयो ‘आयोजनाले व्यासायिक तरकारी खेती गर्ने प्रेरणा दियो, त्यसैले शिक्षक भएर ३६ वर्ष पढाए तर कृषि पेशामा जस्तो आनन्द अरु पेशामा पाइन ।’
गतवर्ष तरकारीबाट राम्रो आम्दानी भएपछि निकै हैसिएका थापाले यो वर्ष तरकारी खेतीलाई अझ विस्तार गर्नु भएको छ । २ रोपनी जग्गामा ५ मुरी गहुँ हुन्थ्ये, ५ मुरी गहँु बेच्दा १५÷२० हजार रुपैया हुन्थ्यो तर ५ मुरी गहुँ हुने त्यही २ रोपनी जग्गामा तरकारी लगाउदा २ लाख रुपैया भयो । त्यसैले यो वर्षबाट वाकी खेतवारीमा तरकारी मात्रै लगाएको भन्दै ५९ वर्षे थापाले दिनहुँ माटोसँग खेल्दा आनन्द आउने गरेको अनुभव पनि सुनाउनुभयो ।
उत्पादित तरकारी वेच्न समस्या छैन । उहाँले दैलेख बजारमा रहेको वम फलफुल तथा सब्जीमण्डीसँग अग्रिम संझौता गर्नु भएको छ । उत्पादित सवै तरकारी वम सब्जीमण्डीलाई दिनुहुन्छ । सुरुसुरुका दिन डोकोमा लिएर बेच्थ्यौ, अहिले तरकारी लिन गाडी घरमै आउँछ, उहाँले भन्नुभयो । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा वम फलफुल तथा सब्जीमण्डीले गाडी किनेपछि किसानलाई पनि निकै सजिलो भएको छ ।
६ वर्ष अघि शिक्षकबाट राजीनामा दिएका थापा शिक्षक र कृषकमा धेरै फरक पाएको अनुभव सुनाउनु हुन्छ । जागिरमा अर्काको दवावमा र कृषिमा स्वतन्त्रता भएर काम गर्न सकिन्छ । श्रमगर्दा दुख भएपनि कृषि पेशामा जस्तो आनन्द अरु कुनै पनि पेशामा छैन । सेवा अवधि बाकी हुदौ राजीनामा दिएर कृषि पेशामा जुटेका थापाले प्रधानाध्यापकको रुपमा घरनजिकै रहेको जनता माध्यामिक विद्यालय कोटथालामा पढाउनु भएको थियो । जिल्लाकै नमुना शिक्षकको पहिचान बनाउनु भएका उहाँ रोजगारी सृजना हुने देखेर कृषिमा हात हालेको बताउनु हुन्छ ।
अहिले गाउँकै नमुना कृषक बन्नु भएका उहाँले तरकारी खेती गरेको देखेर गाउँलेले पनि मकै, गहुँ लगाउन छाडेर व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेका छन । शिक्षक भएर पढाएको व्यक्ति कृषक भएर खेत खनजोत गरेको देख्दा अरुलाई पनि प्रेरणा मिलेको छ । आफैले तरकारी खेती गरेन भने गाउँलेलाई पनि कसरी गर भन्ने ? त्यसैले पहिला आफै उदाहरण बन्नुपर्छ भनेर तरकारी खेतीमा हात हाले थापाले भन्नुभयो । आयोजनाको सहयोगमा घरमै पानीको सुविधा भएपनि तरकारी खेती गर्न झन सजिलो भएको छ ।
आयोजनको सहयोग पाउँदा गाउँलेहरुलाई पनि तरकारी खेती हौसला मिलेको र उनीहरु निकै खुसी भएको उहाँले बताउनु भयो । छोटो समयमै राम्रो आम्दानी गरेका थापाले आगामी दिनमा तरकारी खेतीमा थप लगानी गर्ने योजना बनाउनु भएको छ । निर्वाचित वडासदस्य समेत रहेका थापाले व्यवसायिक कृषिलाई अघि बढाउन सके मात्र आर्थिक क्रान्ति हुने र जनताको जीवनस्तरमा परिवर्तन आउने उल्लेख गर्नुभयो ।
जारकोटमा उत्पादित तरकारी दैलेख सदरमुकाम दैलेखबजारमा विक्री हुन्छ । बजारमा चाहिने ७० प्रतिशत तरकारी जारकोटले नै धानेको छ । जारकोट तरकारी खतीमा जिल्लाकै नमुना गाँउ पनि हो । २०५४ सालमा स्थापना भएको करलेआवत कृषक समुहमा आवद्ध सवै किसानहरु व्यवसायिक तरकारी खेतीमा जुटेका छन । समुहमा आवद्ध एकजना किसानले तरकारी बेचेर बार्षिक ४० हजारदेखि १५ लाख रुपैयासम्म कमाउँछन ।