तरकारीले ल्यायो सुख शान्ति @ rarakhabar.com

https://www.rarakhabar.com/np/hami-sakchhau/6294

तरकारीले ल्यायो सुख शान्ति, बढायो आम्दानी

भीरमौरा गाउँ दैलेख सदरमुकाम दैलेख बजारबाट पश्चिममा रहेको छ । नारायण नगरपालका –४ मा रहेको यो गाउँ सेता प्लास्टिक टनेलले ढाँकिएको छ । टनेलभित्र रहरलाग्दो तरकारी खेती छ । किसानले टनेल बहिर पनि लटरम्म टमाटर फलाएका छन । तिनै लट्रम्म टमाटर फलाउने किसान मध्ये एक जना हुनुहुन्छ –पदमकुमारी मल्ल । २ वर्षदेखि उहाँको दैनिकी तरकारी गोडमेल गर्ने, फलाउने र बिक्रीमै बित्दै आएको छ ।
अरु पेशा भन्दा सहज भएकोले तरकारी खेती रोजाइमा परेको मल्लले बताउनु भयो । ‘अरु पेसाभन्दा कृषिमै आनन्द छ, उहाँले भन्नुभयो, थोरै लगानीमा पनि धेरै आम्दानी लिन सकिन्छ । मल्लले गतवर्ष तरकारीबाट २० हजार रुपैया कमाउनु भएको थियो तर यसपाली ६ महिनामै ६० हजार रुपैया आम्दानी गर्नुभयो । राम्रो आम्दानी भएपछि व्यवसायिक रुपमा तरकारी खेती गर्न हौसिनु भएकी उहाँले मेहनेत गरे तरकारीबाट राम्रै प्रतिफल लिन सकिने बताउनु भयो ।


पदकुमारी भीरमौरा ताजा तरकारी कृषक समुहका कोषाध्यक्ष पनि हुनुहुन्छ । यो समुहलाई उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले वेमौसमी तरकारी खेतीमा सहयोग गरेको छ । आयोजनाको सहयोगपछि समुहमा आवद्ध अरु किसानको झै उहाँको पनि व्यवसायिक तरकारी खेती आयआर्जन बढेको छ । पहिला ऋण सापट गरेर घरखर्च चलाउने उहाँको भन्नुहुन्छ, ‘पहिले पैसा चाहिएको बेला साहुसँग ५ प्रतिशत व्याजमा ल्याएर चलाउनु पथ्र्यो भने अहिले बैंकमा बचत गरेकी छु । आवश्यक परे जतिबेला पनि निकल्न सकिन्छ ।’ तरकारी खेती गर्न थालेपछि मल्लको आर्थिक, सामाजिक अवस्थामा विस्तारै परिवर्तन हुन थालेको छ । छोराछोरीलाई नीजि विद्यालयममा पढाउनु भएको छ । छिमेकीलाई समस्या पर्दा सहयोग गर्नु हुन्छ । त्यसले गर्दा उहाँको समाजमा सम्मान र प्रतिष्ठा पनि बढेको छ ।
उहाँले अहिले ३ दिनमा २ क्रेट तरकारी बेच्ने गरेको बताउनु भयो । ६ महिनाको अवधिमा २ वटा टनेलबाट मात्र उहाँले १० क्वीन्टल टमाटर र ८ क्वीन्टल बन्दा बेच्नु भयो । तरकारी खेती गर्न थालेपछि घरखर्च चलाउन, छोराछोरी पढाउन खासै समस्या भएको छैन मल्लले भन्नुभयो, आयोजनाको सहयोगकै कारण यो अवस्थामा आइपुगियो । सवै खर्च कटाएर ६ महिनामा ६० हजार रुपैया बैकमा बचत गरेकी छु । अव वर्षको एक लाख रुपैया कमाउने योजना छ ।’
पदमकुमारीले तरकारी खेती गरेको देखेर गाउँका अरु महिला दिदीवहिनी पनि त्यसतर्फ आर्कषित हुनु भएको छ । उहाँ अरु दिदीवहिनीको लागि पनि प्रेरणाको स्रोत बन्नु भएको छ । आफुले जाने बुझेका कुरा दिदी वहिनीहरुलाई पनि सिकाउनु हुन्छ । परिश्रमले आम्दानी पनि बढ्छ अनि परिवारमा पनि सुख शान्ति पनि हुने उहाँको भनाई छ । आयोजनाको सहयोगपछि वर्षेनी तरकारी खेती बढाउदै लग्नु भएकी मल्लले अहिले ६ रोपनी खेतवारीमा आलु, टमाटर, काउली, बन्दा लगाउनु भएको छ । तरकारी खेतीलाई अझ विस्तार गदै आगामी वर्ष १० रोपनी खेतवारीमा लगाउने योजना बनाउनु भएको छ ।  HVAP को अनलाईनबाट साभार 

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४     8:58:08 PM