बाली उपचार शिविर @ rarakhabar.com

http://www.rarakhabar.com/np/news/5812

बाली उपचार शिविर

सुर्खेत, १० कार्तिक ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा बाली उपचार शिविर संचालन गरेको छ ।
शुक्रवार गरेको शिविरमा नारेटप्पर कृषि वहुउदेश्यि सहकारी संस्थामा आवद्ध किसानहरुले उत्पादन गरिरहेका बेमौसमी तरकारी बालीहरुमा लागेका हानीकारक कीराहरु तथा रोगहरु, क्षेतिको रोकथाम र उपचार विधिका वारेमा दिइएको छ ।
किसानहरुले आफनो खेतवारी तथा प्लाष्टिक टर्नेलभित्र उत्पादन गरिहेको गोलभेडा, काँक्रो, सिमी, काउली, वन्दा, वोडी जस्ता वेमौसमी तरकारीहरुमा हानीकारक कीराहरु तथा रोगले आक्रमण गरेका क्षेती गरेका लक्षणका नमुनाहरु शिविरमा ल्याएका थिए ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले संचालन गरेको वाली संरक्षण तालिममा सहभागी भएका नीजि प्राविधिक सेवा प्रदायकहरुलाई व्यवहारिक सिकाइको लागि बाली उपचार शिविरमा किसानहरुले ल्याएका नमुनाहरुको बारेमा ज्ञान समेत दिइएको छ ।
शिविरमा सहभागी भएका किसानहरु र तालिमका सहभागीहरुलाई बाली संरक्षण विज्ञहरुले बेमौसमी तरकारी बालीमा लाग्ने हानिकारक कीराहरु तथा रोगहरुको पहिचान, कीरा तथा रोगको जीवन चक्र, क्षेती गर्ने तरिका र उपचार तथा नियन्त्रण गर्ने विभिन्न विधिहरुका बारेमा व्यवहारिक जानकारी दिनु भएको थियो ।


किसानहरुले ल्याएका नमुनाहरुमा खासगरी गोलभेडामा टुटा एब्सोलुटा किरा, डाँठ, फूलमा क्षेती गर्ने पतेरो किरा, पात खन्ने किरा, लाही किरा, काउली र वन्दाको सुर्तिको पातखाने हानी कारक कीराहरुको समस्या देखिएका थिए ।
यस्तै गोलभेडामा व्याक्टेरियावाट वोट ओइलाउने रोग, ढुसीवाट वोट ओइलाउने रोग, भाइरस रोग, सिमीमा कोत्रे रोग, गोलभेडामै फाइटो प्लाज्मा जस्ता रोगहरु देखा परेको बाली संरक्षण निर्देशनालयका बाली संरक्षण विज्ञहरु राजीवदास राजभण्डारी, शालिकराम अधिकारी र उच्च मूल्य वस्तु विकास आयोजनाका बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।


शिविरमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका सेवा बजार सुदृढिकरण विज्ञ रामप्रसाद पुलामी बैमौसमी तरकारी बालीमा नयाँ किसिमका कीरा र रोगहरुको प्रकोप देखिएको हुनाले किसानहरुले आफनो खेतवारी र टर्नेलभित्र लगाएको तरकारी बालीको नियमित अनुगमन र समयमै रोकथाम तथा उपचार गरी तरकारीको उत्पादन लिन सुझाव दिनुभयो ।
शिविरमा बागवानी विज्ञ रञ्जित थापा, प्राविधिक सहायक गुरुप्रसाद अधिकारी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४     4:57:40 PM