कालापहाडको दुःख बिर्सायो@ http://ujyaaloonline.com

http://ujyaaloonline.com/news/90204/tarkariii/

तरकारी खेतीले कालापहाडको दुःख बिर्सायो

 93  0  93

प्रकाश पन्त/उज्यालो ।

सुर्खेत, पुस ५ –पश्चिम सुर्खेतको जंगला गाउँ तरकारी खेतीको नमुना गाउँ बनेको छ । पंचपूरी नगरपालिका –२, मा पर्ने जंगला गाउँका किसानले तरकारी खेतीबाटै गाउँलाई नमुना गाउँको रुपमा चिनाएका छन् । यो गाउँका ३६ जना घरपरिवारले अहिले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन् ।

सबैभन्दा पहिले बरपीपल कृषि समूहमा आवद्ध १६ जना किसानले जंगला गाउँमा तरकारी खेती सुरु गरेका थिए । उनीहरुले तरकारीबाट गतिलो आम्दानी लिन थालेपछि बाँकी गाउँले पनि तरकारी खेतीमा आकर्षित भएको समूहका अध्यक्ष नयाँराम बयकले बताउनुभयो ।

तरकारी खेती गर्नुभन्दा अघि जंगलाकी रमा अधिकारीलाई परिवार पाल्न धौधौ थियो । ३ वर्षदेखि व्यावसायिक तरकारी खेती सुरु गरेपछि उहाँको जीवन फेरिएको छ । तरकारी खेतीबाट उहाँले गएको वर्ष मात्रै २ लाख ७० हजार रुपैयाँ कमाउनुभयो ।

अधिकारीले २ रोपनी जग्गामा टमाटर, काउली, बन्दा, चौमासे सिमी लगायत विभिन्न जातका तरकारी लगाएर बिक्री गर्दै आउनु भएको छ । परिश्रम गरेपछि थोरै जग्गाबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण रमाको परिश्रमले देखाउछ । केही वर्षअघिसम्म बिहान–बेलुकी छाक टार्न धौधौ हुन्थ्यो, अहिले भने तरकारी खेतीबाट धेरै राम्रो भएको छ रमाले भन्नुभयो ।

समूहका अध्यक्ष बयकले लामो समय कालापहाडमा ज्याला मजदुरी गरेर बिताउनु भयो । खेतबारीको उत्पादनले वर्षभरी खान, लगाउन नपुग्ने भएपछि मजदुरी गर्न भारत जानुको विकल्प उहाँसँग थिएन । तर, अहिले उहाँले तरकारी बेचेर वर्षमा २ लाख ५० हजार रुपैयाँ कमाउनुहुन्छ । उहाँले भन्नभयो, ‘२२ वर्ष भारत बसँे, व्यवसायिक रुपमा तरकारी खेतीमा जुटेको ३/४ वर्ष भयो । भारत पनि गएको छैन । तरकारी खेती सुरु गरेसँगै सुखका दिन पनि सुरु भए ।’

नयाँरामले बेमौसमी तरकारी उत्पादन गर्न थालेपछि अरु गाउँले पनि तरकारी खेती गर्न थालेका हुन् । आफू सँगसँगै गाउँका अरु किसानलाई पनि तरकारी खेती गर्न प्रेरित गरेको उहाँले बताउनुभयो । मकै, धान र गहुँ उत्पादन गर्ने खेतबारीमा तरकारी खेती गर्न थालेपछि बर्सेनि लाखौं आम्दानी गर्न सफल भएका छन् । जंगलाका किसानलाई व्यवसायिक तरकारी खेतीतर्फ आर्कषित गर्न उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको ठूलो भूमिका रहेको पनि अध्यक्ष वयकले बताउनुभयो ।

आयोजनाले तरकारी खेतीका लागि आवश्यक पर्ने सिंचाई, कुलो, टनेल निर्माणदेखि बीउ, प्लाष्टिक सिट, मल्चिङ प्लाष्टिक, ढक, तराजु, क्रेट, स्प्रेयरलगायतका सामग्री खरिदमा २२ लाख ६६ हजार रुपैयाँ किसानलाई सहयोग गरेको छ । यस्तै तरकारीलाई बजारसम्म लिन सालकोटको पलैटेदेखि जंगलासम्मको सडकमा पर्ने ४ वटा खोलामा कर्भड निर्माण गर्न ६ लाख ३६ हजार  रुपैयाँ सहयोग गरेको थियो । तरकारी संकलन केन्द्र निर्माणका लागि पनि आयोजनाले १३ लाख ६४ हजार रुपैयाँ सहयोग गरेको समेत समूहका अध्यक्ष बयकले जानकारी दिनुभयो ।

तरकारीबाट जंगला गाउँका एक घर किसानले वर्षमा ५० हजारदेखि ४ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । आफ्नै घरमा राम्रो कमाइ हुन लागेपछि गाउँबाट विदेशिने क्रम पनि रोकिएको छ । तरकारी खेती सुरू हुनुअघि अधिकांश युवा कमाईका लागि कालापहाड जाने गर्थे ।

तर अहिले कालापहाड जान छाडेर आफ्नै खेतबारीमा लटरम्म तरकारी फलाएका छन् । समूहका अध्यक्ष वयकले भन्नुभयो, ‘तरकारी खेतीले आम्दानी मात्र बढेको छैन । किसानको जीवनशैलीमा पनि धेरै परिवर्तन ल्याएको महसुस गरेको छु ।’ 

‘तरकारी बिक्री गर्न पनि समस्या छैन । किसानले उत्पादन गरेको तरकारी लिन वीरेन्द्रनगरका व्यवसायी जंगला नै पुग्छन् । तरकारी बिक्री गर्न टाढा जान नपर्ने भएकाले हामीलाई धेरै सजिलो भएको छ’, किसान कमल वयकले भन्नुभयो,  ‘सिंचाईको सुविधा भएपछि झन तरकारी खेती बढाएका छाैँ ।’ 

जंगलाका किसानले गएको वर्ष ९० टन तरकारी बिक्री गरेका छन् । किसानले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन कृषि सडक निर्माणमा सहयोग गरेको पंचपुरी नगरपालिकाको वडा कार्यालयका सचिव तिलकराम अधिकारीले बताउनुभयो ।

सडक बनेपछि गाउँमा उत्पादित तरकारी बजारसम्म पुर्याउन सहज भएको पनि उहाँले जानकारी दिनुभयो । सचिव अधिकारीले तरकारी खेती गर्ने किसानलाई विभिन्न संघसंस्थासँग समन्वय गरेर सहयोग जुटाउने समेत काम गर्दै आएको उल्लेख गर्नुभयो ।

यता उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले जंगलाका किसानले छोटो समयमै तरकारीबाट राम्रो आम्दानी लिन सफल भएको बताउनुभयो । उहाँले व्यवसायिक रुपमा तरकारी खेती गरेर फाइदा लिन पनि अरु ठाउँका किसानहरुलाई सुझाव दिनुभयो ।