सहयोगपछि समृद्धितर्फ @ rarakhabar.com

http://www.rarakhabar.com/np/hami-sakchhau/6175

सहयोगपछि समृद्धितर्फ बाख्रापालक किसान

तुर्माखाँद (अछाम), २३ पुष ।
अछामका तुर्माखाँद गाउँपालिका–४ जैसुरका लोकेन्द्र बयक शिक्षक पेशा छाडेर बाख्रापालन व्यवसायमा जुटनु भएको छ । व्यवासायिक बाख्रापालन गदै आउनु भएका उहाँले वार्षिक २ लाख रुपैया आम्दानी गर्नु हुन्छ । गाउँकै विश्व माध्यामिक विद्यालयको जागिर छाडेर विगत ३ वर्षदेखि उहाँले व्यवसायिक बाख्रापालन गर्दै आइरहनु भएको छ । शिक्षकको जागिर छोडेर बाख्रापालन गर्नु भएका बयक अहिले तुर्माखाँदकै नमुना कृषकको रुपमा परिचित हुनुहुन्छ ।
‘स्थानीय स्रोतमा पढाउथे, महिनामा ६÷७ हजार हुन्थ्यो, तर बाख्रापालन गर्न थालेपछि मासिक तेव्वरले बढेको छ । अहिले महिनाको २०÷२५ हजार रुपैयासम्म कमाई गर्दै आइरहेको छु’ बयकले भन्नुभयो । सुरुमा शिक्षकको जागिर छोडेर बाख्रा पाल्दैछु भन्दा गाउँलेले बौलायोसम्म भने तर अहिले सवैको लागि प्रेरणा बनेको छु उहाँले भन्नुभयो ।


तुर्माखाँद –४ जैसुरकै प्रगतिशिल कृषक समुहमा आवद्ध लोकेन्द्रको फार्ममा अहिले ५५ वटा बाख्रा छन । बाख्रापालनको लागि उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले समुहलाई १३ लाख ४७ हजार रुपैया अनुदान सहयोग गरेको थियो । बाख्रापालन समुहमा आवद्ध बयकले आयोजनाले अनुदान दिएको मध्ये आधुनिक खोर निर्माणको लागि २९ हजार रुपैया पाउनु भएको थियो । त्यो रुपैयाबाट उहाँले २ वटा आधुनिक खोर निर्माण गर्नुभयो ।
आयोजनाको सहयोगले मलाई व्यवसायिक रुपमा बाख्रापालन गर्ने प्रेरणा दियो त्यसैले शिक्षक पेशा छाडेर बाख्रापालनमा लागे बयकले भन्नुभयो, बाख्राबाट वर्षेनी राम्रो आम्दानी भैइरहेको छ ।उहाँले बाख्रापालनको आम्दानीवाट ३ जना छोराछोरीलाई गाउँकै नीजि विद्यालयमा पढाइरहनु भएको छ । आर्थिक समस्या परेको वेला गाउँलेलाई पनि सहयोग गदै आउनु भएको छ । बैसाख महिना यतामात्र उहाँले खसीवोका, पाठापाठी गरी २० वटा जति विक्री गर्नुभयो । बाख्रापालन व्यवसायलाई अझ व्यापक रुपमा अघि बढाउने उहाँको योजना छ । त्यसको लागि उहाँले ग्रामिण पशु सेवा कार्यकर्ताको तालिम पनि लिनु भएको छ ।


लोकेन्द्र जस्तै जैसुरकै नामसरा बयक, कृष्णकुमारी बयक, कल्पना बिसी, भगवती उपाध्याय पनि व्यवसायिक रुपमा बाख्रापालनमा जुटनु भएको छ । नामसराले ४६ वटा, कृष्णकुमारीले ५५ वटा, कल्पनाले ३९ वटा र भगवतीले ३६ वटा बाख्रापालन गर्नु भएको छ । उहाँहरु सवैलाई आयोजनाले बाख्रापालनमा सहयोग गरेको थियो ।आयोजनाको सहयोगपछि आफुहरु व्यवसायिक बाख्रापालनमा जुटेको उहाँहरुले बताउनु भयो । ठुलो सामुदायिक बन उपभोक्ता समितिका सचिव भुवानसिह बयक एउटै समुहमा आवद्ध किसानहरुसँग १ हजार २ सय ५५ वटा बाख्रा रहेको बताउनु हुन्छ । एकजना किसानले बर्षमा कम्तिमा ५० हजार रुपैयादेखि २ लाख रुपैयासम्मका बाख्रा बिक्री गर्ने गरेका पनि उहाँले उल्लेख गर्नुभयो ।


लोकेन्द, नामसरा, कृष्णकुमारी, कल्पना त उदाहरण मात्र हुन अहिले अछामको तुर्माखादका अधिकाश गाउँले बाख्रापालनमा जुटेका छन । निर्वाहमुखी बाख्रापालन गर्दै आएका उनीहरु अहिले व्यवसायिक रुपमा बाख्रापालनमा जुटेका हुन । उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगपछि गाउँलेहरु व्यवसायीक बाख्रापालनतर्फ आर्कर्षित भएको प्रगितिशल कृषक समुहका अध्यक्ष कृृष्णबहादुर बयकले बताउनु भयो ।
व्यवसायिक रुपमा बाख्रापालन गर्न चाहने ७२ जना किसानलाई आयोजनाले २८ लाख ३६ हजार रुपौया सहयोग गरको थियो । जैसुरमा रहेका प्रगतिशिल कृषक सुमहलाई १३ लाख ४७ हजार र ठुलो सामुदायिक बन उपभोक्ता समितिलाई १४ लाख ९१ हजार रुपैया अनुदान सहयोग गरेको थियो । आयोजनाको सहयोगमा किसानहरुले आधुनिक बाख्रा खोर निर्माण, नश्ल सुधारका लागि उन्नत बोका खरिद, डाले तथा भुँई घाँस खेती, बाख्र्रापालन, घाँसखेती नर्सरी व्यवस्थापन र बजारीकरण सम्वन्धी तालिम, आन्तरिक र वाह्य परिजीवी नियन्त्रणको लागि डिपिङ्ग टंकी निर्माण र प्राविधिक सेवा पनि खरिद गरेको अध्यक्ष बयकले बताउनु भयो ।


झन्झटपनि कम हुने र थोरै लगानीबाट आम्दानी पनि बढी हुने भएकोले किसानहरु बाख्रापालनमा जुटेको तुर्माखाँद गाउँपालिका वडा नम्वर–४ का वडाध्यक्ष कविराज बयकले बताउनु भयो ।उहाँले तुर्माखादमा बाख्रापालनको राम्रो सम्भावना भएकोले यसलाई पकेट क्षेत्रकै रुपमा विकास गर्ने योजना रहेकोले सहयोग गर्न आग्रह गर्नुभयो ।


यता उच्च मुल्य कृषि वस्तु आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनाको सहयोगपछि धेरै किसानहरु व्यवसायिक रुपमा बाख्रापालनमा जुटेको उल्लेख गदै यसवाट उनीहरुले राम्रो आम्दानी पनि गदै आएको बताउनु भयो । उहाँले आयोजनाले सहयोग गरेको समयमा मात्र हैन आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सके किसानहरुको जीवनस्तरमा उल्लेख सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः आइतवार, पुस २३, २०७४     5:53:18 AM