टनेलमा बेमौसमी तरकारी @ rarakhabar.com

http://www.rarakhabar.com/np/surkhet/6191

टनेलमा बेमौसमी तरकारी फलाउदै, बर्मागारका दलित महिला

सुर्खेत, १४ माघ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका –११ बर्मागारकी सुनिता सुनार हिजोआज बेमौसमी तरकारी लगाउन व्यस्त हुनुहुन्छ । डेढ कट्ठा जग्गामा उहाँले प्लास्टिक टनेलभित्र काँक्रा, करेला र टमाटर लगाउनु भएको छ । ४८ वर्षको उमेरमा पहिलो पटक व्यवसायिक रुपमा तरकारी खेती थालेकी सुनारले पहिला घरमा मात्रै खान लगाएपनि यसपाली बेच्ने गरी तरकारी लगाएको बताउनु भयो । उहाँले भन्नुभयो, पहिलो पटक बेमौसमी तरकारी खेती गदैछु, कति आम्दानी हुन्छ । थाहाँ छैन ?


बर्मागारकै ४६ बर्षिया बेलमति सुनार पनि तरकारी गोडमेलमै व्यस्थ देखिनु हुन्छ । पहिलो पटक टनेलभित्र तरकारी लगाउनु भएकी उहाँलाई श्रीमान खिमबहादुर र छोरी शर्मिलाले पनि साथ दिदै आउनु भएको छ । गाउँका सवै दिदीवहिनीले तरकारी लगाएको देखेर हैसिएकी सुनारले भन्नुभयो, थोरै खेतवारीमा घरको लागि मात्र तरकारी लगाउथ्यौ, अहिले अरुको लागि लगाएकी छु । आम्दानी राम्रो भयो भने अर्को वर्षदेखि सवै जग्गामा तरकारी मात्रै लगाउने सोचमा छु ।


सुनिता र बेलमति प्रतिनिधी पात्र हनुहुन्छ । गुर्भाकोट नगरपालिका –११ बर्मागारस्थीति दलित बस्तीका महिलाहरु समुह नै गठन गरेर व्यवसायिक तरकारी खेतीमा जुटेका छन । उनीहरुलाई आत्मनिर्भर बनाउन उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले बेमौसमी तरकारी खेती गर्नको लागि सहयोग गरेको छ । परम्परागत रुपमा तरकारी उत्पादन गरिरहेका तर आवश्यक ज्ञान र सिप नहुँदा व्यवसायिक बन्न नसकेका दलित बस्तीका महिलालाई आयोजनाले आर्थिक तथा प्राविधक सहयोग गरेर बेमौसमी तरकारी उत्पादनतर्फ आर्कर्षित गरेको आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले बताउनु भयो ।


आयोजनाले सयपत्री खाद्य कृषक समुहमा आवद्ध ३१ जना महिलालाई बेमौसमी तरकारी उत्पादनको लागि १० लाख ८१ हजार रुपैया अनुदान दिएको छ । अनुदान रकमले उनीहरुले प्लाष्टिक सिट, मल्चिङ्ग प्लाष्टिक, डोरी, क्लिप डिजिटल तराजु, क्रेट, स्प्रेयर, झारी, थोपा सिंचाई लगायतका सामान किनेका छन । आयोजनाको सहयोगपछि महिलाहरु तरकारी खेती गर्न अग्रसर भएर लागेको समुहका अध्यक्ष नन्दा सुनारले जानकारी दिनुभयो । समुहका प्रत्येक सदस्यले अहिले एक÷डेढ कट्ठा जग्गामा तरकारी लगाएको छन । हरेकले एक टनसम्म तरकारी उत्पादन गर्ने लक्ष्य लिएका छन । यसपाली राम्रो उत्पादन भए वाह्रैमहिना बैमौसमी तरकारी खेतीलाई विस्तार गर्ने सोचमा महिलाहरु रहेको समुहका अध्यक्ष सुनारले बताउनु भयो ।


आयोजनाले सहयोगमा उनीहरुले काँक्रा, टमाटर, खोर्सानी काउँली, बन्दा, प्याज, करेला जस्ता तरकारी लगाएका छन । धान, मकै र गहुँ जस्ता परम्परागत बाली लगाउन छाडेर बेमौसमी तरकारी उत्पादनमा जुटेकी पवित्रा सुनारले धान, मकै र गहुँ लगाउने खेतबारीमा पहिलो पटक काँक्रा, करेला र टमाटर लगाएको बताउनु भयो । उहाँले भन्नुभयो, पहिला घरमै खानको थोरै बारीमा मात्र लगाउथे, यसपालीबाट बेच्ने गरी तरकारी लगाएकी छु ।


सानोतिनो रकमको लागि पुरुषसंग हात फैलाउनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास महिलाहरुले लिएका छन । नगरपालिकाले गाउँमा सिचाई कुलो निर्माण गरिदिएपछि उनीहरुलाई तरकारी खेती गर्न थप सजिलो भएको छ । नजिकै बजार र यातायातको सुविधा भएकोले जति उत्पादन गरेपनि तरकारी विक्री हुने हिमा विकले बताउन भयो । उहाँले आउँदा दिनमा तरकारी खेतीलाई नै निरन्तरता दिने सोचमा बर्मागार गाउँका महिला रहेको समेत बताउनु भयो ।


पहिलो पटक प्लाष्टिक टनेलभित्र तरकारी लगाएको देखिपछि ८१ बर्षिय गोपाल सुनार पनि दंग पर्नु भएको छ । उहाँले भन्नुभयो अहिले गाउँ नै टनेलले ढाकी सक्यो, गहुँ, जौं, मकै लगाउने खेतवारीमा तरकारी नै तरकारी छ । यस्तै ७१ बर्षिय जंगबहादुर सुनारले भन्नुभयो, पहिला घरमै खानाको लागि तरकारी लगाउथे । वर्षे सिजनमा मात्र लगाउने काँक्रा अहिले हिउदे सिजनमा पनि लगाएका छन । महिनेत गरे घरमै सवै थोक फल्दो रहेछ ।


उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले भर्खर बेमौसमी तरकारी खेतीमा जुटेका बर्मागारका महिला किसानलाई तरकारी खेती सम्वन्धी आवश्यक ज्ञान दिएको छ । खेतवारीमै पुगेर उनीहरुलाई नर्सरी स्थापना, रोग किरा नियन्त्रण, तरकारी उत्पादन लगायतको बारेमा जानकारी दिएको आयोजनाका बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकायले बताउनु भयो । उहाँले प्राविधिक ज्ञानको अभावले उनीहरुले सोच अनुसारले बेर्नाको जर्गेना गर्न नसकेकोले गाउँमै पुगेर प्राविधिक ज्ञान दिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः आइतवार, माघ १४, २०७४     5:49:38 AM