सुर्खेतमा बोयर बाख्रापालन@ नेपाल समाचारपत्र दैनिक

http://www.newsofnepal.com/2018/03/10/87430/

अस्ट्रेलियाबाट ल्याएर सुर्खेतमा बोयर बाख्रापालन



प्रकाश पन्त, बीरेन्द्रनगर । कर्णाली प्रदेशमै पहिलो पटक व्यवसायिक रुपमा बोयर जातका बाख्रा पालन सुरु गरिएको छ । मासुका लागि उपयुक्त मानिएको, छिटो हुर्कने र तौल बढी हुने भएकाले किसानहरु बोयर जातको बाख्रा पालनले यसप्रति आकर्षित भएका छन । सुर्खेतको लेखबेशी नगरपालिका ८ सालडाँडामा समृद्धि कृषिले आधुनिक खोरमा बोयर जातको बाख्रापालन सुरु गरेको हो ।

उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा अस्ट्रेलियाबाट ल्याएर बोयर जातका बाख्रा पालन सुरु गरेको फर्मका संचालक तर्कबहादुर शाहीले बताउनुभयो । आयोजनाको सहयोगमा अस्ट्रेलियाबाट बोयर जातका १० वटा पाठी र २ वटा बोका ल्याएको उहाँले जानकारी दिनुभयो ।

बोयर बाख्रालाई २५ लाख रुपैया परेको थियो । आयोजनाले १४ लाख ४३ हजार रुपैया सहयोग गरेको थियो । वाकी रकम शाही आफैले खर्च गर्नु भएको थियो । आयोजनाले बोयर किन्न आर्थिक र आधुनिक खोर निर्माण गर्न प्राविधिक सहयोग गरेको थियो । छिटो बढ्ने, तौल राम्रो हुने र विश्व बजारमा मासुको माग पनि बढ्दो भएकोले बोयर जातको बाख्राको भविस्य राम्रो देखेर व्यवसायिक रुपमा पाल्न थालको शाहीले बताउनु भयो । सुर्खेतमा यसअघि खाद्य सुरक्षा आयोजनाले १६ वटा शुद्ध बोयर जातका बोकाहरु किसानलाई दिएको थियो ।

त्यसको प्रभाव राम्रो भएकोले किसानको मागलाई निरन्तरता दिन आयोजनाले बोयर बाख्राको स्रोत केन्द्रको रुपमा विकास गर्न सहयोग गरेको आयोजनाका पशु सेवा विज्ञ दामोदर न्यौपानेले बताउनु भयो । उहाँले विदेशबाट बोयर जातका बाख्रा र बोकाहरु ल्याउन धेरै झन्झटिलो हुने, खर्च पनि बढी लाग्ने भएकोले किसानको सहजताको लागि आयोजनाले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

एक वर्ष अघि बाट संचालन गरिएको बाख्रा फर्ममा गत मंसिर महिनामा बोयर जातका बाख्रा र वोकाहरु ल्याइएको थियो । अवको दुई महिना भित्रै वोयरका पाठापाठीहरु विक्री गर्न सुरु गर्ने पनि संचालक शाहीले उल्लेख गर्नुभयो । होटेल व्यवसायी समेत रहेका उहााले बाख्राफर्ममा अहिलेसम्म ७५ लाख रुपैया खर्च भैइसकेको जानकारी दिनुभयो । उहाँले बोयरका पाठापाठी प्रतिकिलो ३ हजार रुपैयाँसम्म बेच्ने योजना बनाएको पनि बताउनुभयो ।