सडकको विकल्प ‘रोप–वे @ कान्तिपुर दैनिक

सडकको विकल्प ‘रोप–वे’

 

कृष्णप्रसाद गौतम

गाल्जे (कालिकोट) — तिलागुफा नगरपालिका ११ का किसान टेकबहादुर शाही वार्षिक करिब १६ टन स्याउ उत्पादन गर्छन् । केही वर्षअघिसम्म उनी उत्पादित स्याउ भरियालाई चार घण्टा पिठयुँमा बोकाएर कर्णाली राजमार्गसम्म पुर्‍याउँथे ।

एक वर्षअघि गाल्जे–कामखेत ‘ग्राबिटी रोप–वे’ जडान भएपछि भने उनको स्याउ एक मिनेट २५ सेकेन्डै राजमार्गको पहुँचमा पुग्छ ।

तिला नदीवारि सडक र पारि बस्ती भएकाले सडक सुविधा पुग्न वर्षौं लाग्ने स्थानीयको भनाइ छ । रोप–वे जडान भएपछि उनीजस्तै तिलागुफा नगरपालिकाका ६, ९, १० र ११ वडाका २ हजार ५ सय घरधुरीका किसान लाभान्वित भएका छन् । स्थानीयबासीले उत्पादन गर्ने तरकारी र फलफूल सजिलै राजमार्गसम्म पुग्छ । यसले बजारीकरणमा ठूलो सहयोग पुर्‍याएको कृषकको भनाइ छ । उनीहरूका अनुसार ‘रोप–वे’ ले ढुवानी खर्चसमेत जोगाएको छ । ‘समयमा मान्छे नपाइने, पाए पनि मान्छेमार्फत ढुवानी निकै महँगो थियो,’ शाहीले भने, ‘भारी बोक्दा स्याउ थिचिएर बिक्री नहुने समस्या थियो, रोप–वे जडान भएपछि धेरै समस्या हल भएका छन् ।’ बोकाएर गाल्जेसम्म पुर्‍याउँदा प्रतिकिलो १२ रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए । शाहीले स्याउबाट वार्षिक १५ लाख रकम आम्दानी गर्दै आएका छन् ।

‘रोप–वे’ मार्फत ढुवानी गर्दा प्रतिकिलो ३ रुपैयाँ ढुवानी खर्च लिने गरिएको गाल्जे–कामखेत ग्राबिटी कृषक समूहका अध्यक्ष मुनबहादुर थापाले बताए । उनका अनुसार अपरेटर खर्चबापत २ रुपैयाँ र मर्मतबापत १ रुपैयाँ ‘रोप–वे’ सञ्चालक समितिले लिने गरेको हो । ‘एकपटकमा एक क्विन्टल सामान वारपार हुन्छ,’ उनले भने, ‘तल र माथिबाट ७५ र २५ प्रतिशतका दरले सामान ढुवानी गर्दै आइरहेका छौं ।’ ‘रोप–वे’ मा दुईजनाले रोजगारीसमेत पाएको उनले बताए । भटारी र गाल्जेमा रोप–वे प्वाइन्ट स्थापना गरिएको छ । ‘रोप–वे’ प्वाइन्टमा कम्पनको माध्ययमबाट आपसी सञ्चार हुने गरेको छ ।

उच्च मूल्य कृषिवस्तु विकास आयोजनाको सहयोगमा १ हजार ६ सय मिटर लामो ‘रोप–वे’ जडान गरिएको हो । आयोजनासँग आबद्ध १५ समूहको तरकारी र फलफूलले सजिलै बजार पाएको आयोजनाले जनाएको छ । भौगोलिक रूपमा विकट भए पनि माथिल्ला क्षेत्रमा स्याउ र आलु उत्पादन कालिकोटमै सबैभन्दा धेरै हुने भएकाले ‘रोप–वे’ निर्माण गरिएको आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले बताए । ‘किसानले बजारीकरणमा सहयोग गर्न माग गरेकाले ‘रोप–वे’ को निर्माण गरिएको हो,’ आयोजना प्रमुख भारीले भने, ‘अहिले त्यहाँको उत्पादन ठूला सहरमा जान थालेको छ । भाउसमेत राम्रो पाइरहेको छ ।’

आयोजनाको ३१ लाख रुपैयाँ सहयोग र जनश्रमदानबाट गत वर्ष जेठमा ‘रोप–वे’ निर्माण गरिएको हो ।

‘रोप–वे’ निर्माण भएपछि सडकको विकल्प बनेको जुविधाका श्रीबहादुर शाहीले बताए । उनका अनुसार ‘रोप–वे’ बनेपछि सडक सुविधा नपुगेका गाउँबाट स्याउ, आलु, सिमीलगायत कृषिजन्य सामग्री गाल्जे पुर्‍याउन सजिलो भएको छ । ‘रोपवेमार्फत गाउँमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री जाने गरेको छ,’ उनले भने, ‘गाउँबाट सिजनमा दैनिक ५० क्विन्टलसम्म आलु सिमी र स्याउ पठाउने गरेका छौं ।’


आयोजनाले करिब २१ लाख रुपैयाँ लगानीमा कर्णाली राजमार्गले छोएका गाल्जेमा तरकारी संकलन केन्द्रसमेत स्थापना गरेको छ । १५ टन तरकारी संकलन केन्द्रमा एक सातासम्म राख्न मिल्ने र कर्णाली राजमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने गरेको कामखेतकी कलसा शाहीले बताइन् । ‘रोप–वे र संकलन केन्द्र निर्माणले कालिकोटमा सबैभन्दा बढी स्याउ उत्पादन हुने कामखेतको उत्पादनले सजिलै बजार पाउन थालेको छ,’ उनले भनिन्, ‘हामीले उत्पादन गरेको तरकारी र स्याउ सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ ।’

रुडु, कामखेत, रोकायाबाडा, तल्लो रुडु, जुबिथा स्याउ र तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छन् । कामखेत आसपासका क्षेत्रमा करिब सय टन स्याउ र ७५ टन आलु उत्पादन हुने गरेको शाहीले बताए । गाउँमा २ सय ५० रोपनी क्षेत्रफलमा स्याउ खेती गरिएको छ । आयोजनाले वर्षौंदेखि बन्द रहेको राचुलीको भातडीबाट धनाडा जोड्ने ‘ग्राबिटी रोप–वे’ मर्मत गरेको छ । ‘रोप–वे’ मर्मतपछि भातडी आसपासका आधा दर्जन गाउँका कृषकलाई आलु, स्याउ, सिमीलगायत कृषिजन्य सामग्रीको बजारीकरण गर्न सहयोग पुगेको छ ।

प्रकाशित : असार २७, २०७५ १०:३४