गाउँगाउँमा स्याउ नर्सरी @ कान्तिपुर दैनिक

गाउँगाउँमा स्याउ नर्सरी

१ सय २० नर्सरीमार्फत ५ लाखभन्दा बढी स्याउका बेर्ना उत्पादन

 

कृष्णप्रसाद गौतम

जुम्ला — चन्दननाथ ९ उम्गाडका रतनबहादुर रावलको कालिका फलफूल नर्सरीमा बर्सेनि २२ हजार स्याउका बेर्ना उत्पादन हुन्छन् । उनले स्याउसँगै जुम्लामा फल्ने अरू फलफूलका बेर्नासमेत उत्पादन गर्दै आएका छन् । उनको नर्सरीबाटै ४४ रुपैयाँ प्रतिगोटा स्याउका बेर्ना बिक्री हुने गरेका छन् ।

जुम्ला चन्दननाथ उम्गाडस्थित नर्सरीमा अगुवा कृषक रतनबहादुर रावल । तस्बिर : कृष्णप्रसाद

उम्गाडकै अम्मरबहादुर रावतको नर्सरीमा ३८ हजार स्याउका बिरुवा हुर्किरहेका छन् । तीनजनालाई नियमित रोजगारी दिइरहेका रावतको सत्रखम्बा फलफूल नर्सरीबाट वार्षिक ९ लाख आम्दानी भइरहेको छ ।

यहाँका एक सयभन्दा बढी किसानले जुम्लामा स्याउका बेर्ना उत्पादन गर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा १ सय २० नर्सरी छन् । अधिकांशमा स्याउका बेर्ना उत्पादन गरिन्छ । केही वर्षअघिसम्म भारतको हिमाञ्चललगायतका ठाउँबाट स्याउका बिरुवा ल्याउनुपर्ने बाध्यता हटेको छ । अहिले जुम्लामा उत्पादित स्याउका बिरुवा स्थानीयस्तरमा उत्पादन भएका बिरुवामा रोगकिरा कम लाग्ने, वातावरण अनुकूल र गुणस्तरीय छन् । जुम्लाको माग धानेर अरू जिल्लामा समेत पठाउँदा किसानको आयआर्जन बढेको छ । जसले कृषकको जीवनस्तर गुणस्तरीय बन्दै गएको छ ।

आफ्नो नर्सरीमा उत्पादन भएका स्याउका बिरुवा मनाङ, मुस्ताङ, मुगु, कालिकोट, बाजुरा, रुकुम, दार्चुलालगायत जिल्लामा जाने गरेको रतनबहादुरले बताए । उनले नर्सरीबाट वार्षिक ८ लाख आम्दानी हुने गरेको बताए । उनले नियमित दुईजनालाई रोजगारी दिएको जनाए । उनको नर्सरीमा सिजनको बेला १५ जनासम्मले रोजगारी पाउने गरेका छन् ।

उनले किसानलाई खाल्डा खन्ने, बिरुवा लगाउने, काँटछाँट गर्ने लगायत काममा सघाउने गरेको बताए । १७ वर्षको उमेरमा भारतमा मजदुरीका लागि गएका उनले पाँच वर्षअघि नर्सरी स्थापना गरेका हुन् । नर्सरीसँगै राफै, देउरुक र कालिकामा उनका तीन स्याउ बगैंचा छन् । बगैंचामा करिब ३ सय ५० बिरुवा छन् । उनले गत वर्ष ५० क्विन्टल स्याउ उत्पादन गरेको जनाए । स्याउ खेती र नर्सरीबाट आएको रकमले सुर्खेतमा २ घडेरी र जुम्लामा ५ रोपनी जग्गा जोडेको बताए ।

छोरालाई चितवनमा कृषि विषय पढाइरहेका छन् । ‘श्रम गर्न छोडिएन, त्यसैले सफल भइयो,’ उनले भने, ‘अझै नर्सरी र स्याउ खेतीलाई विस्तार गर्ने सोच छ ।’ ५० सालबाट नर्सरी सुरु गरेका अमरले २०७० सालबाट उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा व्यावसायिक बनाएका हुन् । ४० हजार बिरुवा उत्पादन हुने नर्सरीमा ३८ हजार स्याउका बिरुवा छन् । २ रोपनी क्षेत्रफलमा नर्सरी सञ्चालन गरेका उनले गिरिखोला, उम्गाड र कोठामा ६ सय बिरुवा लगाएका छन् । ‘नर्सरी र स्याउ खेतीले जिल्लाको उत्कृष्ठ कृषकका रूपमा चिनाएको छ,’ उनले भने, ‘विभिन्न स्थानमा १५ रोपनीभन्दा बढी जग्गा जोड्न सफल भएको छु, जीवनस्तर उकासिएको छ ।’

जुम्लामा रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियसलगायत जातका स्याउका बेर्ना उत्पादन गरिन्छ । स्याउका बेर्ना तीन वर्षमा तयार हुन्छन् । पहिलो वर्ष कलमी गर्न बिरुवा तयार गरिन्छ । दोस्रो वर्ष कलमी गरिने र तेस्रो वर्ष बेर्ना बिक्री गर्ने गरिएको छ । सरकारी मूल्यअनुसार ४० रुपैयाँ र प्राविधिक खर्च ४ रुपैयाँ लिने गरिएको नर्सरी सञ्चालकको भनाइ छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले जुम्ला र कालिकोटका २ हजार ६९ स्याउ उत्पादक किसानलाई विभिन्न सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

आयोजनाले स्याउ खेती र बजारीकरणका लागि ८ करोड ९५ लाख रकम सहयोग गरिएको जनाएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीका अनुसार जुम्लाका १ हजार २ सय स्याउ उत्पादक किसान ६९ समूहमा आबद्ध भई व्यावसायिक स्याउ खेतीमा संलग्न छन् । आयोजनाले किसानलाई स्याउ नर्सरी र बगैंचा व्यवस्थापनमा विभिन्न सहयोग गरिरहेको आयोजना प्रमुख भारीले बताए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा १ सय २० नर्सरी छन् । अधिकांशमा स्याउका बिरुवा उत्पादन हुने गरेको छ । कार्यालयका अनुसार जुम्लामा मात्रै करिब ५ लाख ७५ हजार स्याउका बेर्ना उत्पादन हुने गरेका छन् । जुम्लामा करिब २० करोडको स्याउको कारोबार हुने गरेको छ । जुम्लामा ३ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ ।

प्रकाशित : श्रावण ३, २०७५ ०८:५१