भीमाको बदलिएको भेष @ rarakhabar.com

https://www.rarakhabar.com/np/hami-sakchhau/6557

भीमाको बदलिएको भेष

तीनवर्ष अघिसम्म सुर्खेत, चिङ्गाड गाउँपालिका–६, भर्जेनीकी ३० वर्षीया भीमा चुनारको परिवारलाई साँझ÷बिहान छाक जुटाउन मुस्किल थियो । एकातिर खेतीगर्ने जग्गा जमिन थोरै, अर्कोतिर उत्पादन पनि एकदमै कम । हरेक वर्ष बेसाहा गर्नुको बिकल्प थिएन । तर, बेसाहा गर्नको लागि पैसा पनि हुन्थेन । जब उनी व्यावसायिक रुपमा अदुवा खेतीमा लागिन्, उनको जीवनमा नयाँ चेहरा देखिन थाल्यो । ‘अहिले अदुवा बेचेरै पैसा कमाइन्छ, टन्न हुनेगरी खाना किनेर खाइन्छ,’ उनीभन्छिन्, ‘आखिर हिजो यही खेतबारीमा लगाउने अनाजले न त खानपुग्थ्यो, न त पेटभरि पुग्ने अनाज किन्ने पैसा आउँथ्यो ।’


उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको सहयोगपछि उनको व्यावसायिक जीवनले फड्को मारेको हो । तीन वर्षदेखि अदुवा खेती गरिरहेकी उनी अहिले वर्षमा कम्तिमा ५० हजार रुपैयाँ कमाउँ छिन् । ‘मकै, गहुँ लगाएपछि न त खानपुग्ने, न त बेचेर अनाज किन्न पुग्ने,’ उनले भनिन्, ‘अहिले यही पैसाले मज्जाले जीवन चलेको छ ।’
उनी गाउँकै शिशिर उन्नत अदुवा उत्पादन कृषक समूहमा आवद्ध छिन् । उक्त समूहलाई आयोजनाले सहयोग गरेको छ । उनी बीऊ उत्पादन पनि गर्छिन् । गतवर्ष उनले गाउँलेलाई ५० क्विन्टल बीऊ बेचिन् । यसले उनलाई थप आम्दानी पनि दियो । ‘अदुवा लगाउन थालेपछि दुःखका दिन बिस्तारै हराउँदै जानथाले,’ उनी भन्छिन्, ‘यो व्यावसायलाई अझ बिस्तार गर्ने सोचमा छु ।’
अदुवाकै आम्दानीबाट वर्षभरि खान पुग्नुका साथै छोराछोरीलाई पनि पढाएकी छिन् । साह्रोगाह्रो पर्दा कोहीसँग हात पसार्न जानु पर्दैन । कुनै बेला घरखर्च चलाउन मासिक ३ प्रतिशत ब्याजमा ऋण लिएकी उनी अहिले समूहमा बचत गर्छिन् । श्रीमान् मिस्त्रीको काम गर्छन् । यसले उनको परिवार सुखी र शान्त छ । ‘पहिले त उहाँ (श्रीमान्) पनि कालापहाड जानु हुन्थ्यो,’उनले भनिन्, ‘अहिले गाउँमै बसेर काम गर्नु हुन्छ, सबैलाई राम्रो भएको छ ।’
उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले सिँचाईको लागि साढे ६ किलोमिटर टाढाबाट पानी ल्याइदिएको छ । ११ लाख ३५ हजार रुपैयाँ लागतमा पाम्का र अवलचिङको सीमामा पर्ने भुराखोलाबाट भर्जेनीमा पानी ल्याई सिँचाई सुविधा पु¥याइएको छ । यसबाट ३० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । दुई सय रोपनी जग्गामा सिँचाई सुविधा पुगेको छ । अहिले भीमाको सिको गदै गाउँका अन्य किसानले अदुवा खेती थालेका छन् । ‘मिहिनेत ग¥यो र सोच बदल्यो भने गाउँमै प्रगति गर्न सकिँदोरहेछ,’उनी भन्छिन्, ‘अदुवा खेतीले मेरो जीवनको भेष नै बदलिदिएको छ, यसमै खुसी छु ।’

प्रकाशित मितिः बिहिबार, साउन ३१, २०७५     6:24:24 AM